नेपाली पक्षकै कारण नाकामा अवरोध: भारत

  • 25 सेप्टेम्बर 2015
terai तस्वीर कपीराइट bbc
Image caption आन्दोलनरत मोर्चाले बिहीबारयता आफ्नो आन्दोलन राजमार्ग र भन्सार नाकाहरुमा केन्द्रित गरेको छ

भारतले नेपालसंगको सीमास्थित प्रवेश विन्दुहरुमा भएको अवरोधहरु नेपाली क्षेत्रमै भएको अस्थिरता र विरोध प्रदर्शनका कारण भएको बताएको छ।

नेपालको अवस्थाबारे सोधिएको प्रश्नको जवाफमा भन्दै भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले उल्लेख गरेका छन्, “हामीले भारत-नेपाल सीमाका विभिन्न प्रवेश विन्दुहरुमा अवरोधहरु भएको विवरणहरु देखेका छौं। ती विवरणमा भएको भनिएको अवरोधहरु नेपालतिर कै अस्थिरता र नेपालका केही पक्षले गरेको प्रदर्शनका कारण भएको हो”।

नेपाल-भारत सीमा नाकामा माथिको आदेश भन्दै भारतीय अधिकारी तथा सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने मालवाहक ट्रक तथा इन्धन बोकेका ट्याङ्करको आवातजावतमा कडाइ गरेको विवरणमाझ भारतीय पक्षबाट यस्तो भनाइ आएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो जवाफमा अगाडि भनेका छन्, “गत २१ सेप्टेम्बरमा नै हामीले भनेजस्तै हाम्रा ढुवानीकर्ताहरुले नेपालमा जारी तनावका कारण त्यहांभित्र आवातजावतका लागि समस्या भोगिरहेको र सुरक्षा चिन्ताहरु रहेको गुनासो गरेका थिए”।

उनले अहिले नेपालले भोगिरहेका मामिलाहरु राजनीतिक प्रकृतिको रहेको भारतले दोहोर्याउन चाहेको बताएका छन्।

उनले भनेका छन्, “नेपाली नेतृत्वले मुठभेडको वर्तमान अवस्थाका कारणहरुलाई विश्वासिलो र प्रभावकारी ढंगले सम्बोधन गर्न जरुरी छ। मतभेद रहेका विषयहरु बृहत अपनत्व र स्वीकारोक्तिका साथ समाधान र संस्थागत गरिनुपर्छ। हामी आशा गर्छौं, यो अवस्था सक्दो छिटो सहज हुनेछ”।

तराई केन्द्रित असन्तुष्ट दलहरुले शुक्रबार दोस्रो दिन पनि भारतसंग जोडिएको नेपाली नाकाहरुमा धर्ना जारी राखेका छन्।