राजाद्वारा सुरक्षा पुनरावलोकन गर्न निर्देशन

  • 25 सेप्टेम्बर 2015
तस्वीर कपीराइट S. ARABISTAN SIVIL SAVUNMA MUDURLUGU
Image caption इरानले त्यहाँको सुरक्षा व्यवस्थापप्रति असन्तुष्टि प्रकट गरेको छ

साउदी अरेवियाका राजा सलमानले हज तीर्थस्थलको सुरक्षास्थिति पुनरावलोकन गर्न निर्देशन दिएका छन्।

मक्कास्थित तीर्थस्थल नजिकै ७ सयभन्दा बढी मानिसको भागदौडमा ज्यान गएपछि राजा सलमानले तीर्थयात्राको पूर्ण पुनरावलोकन गर्न निर्देशन दिएका हुन्।

उनले तीर्थयात्रीहरुको आवागमन र व्यवस्थापनमा सुधार गर्नु पर्ने खाँचो औंल्याएका छन्।

कारण

२५ वर्षयता तीर्थस्थलमा भएको सबैभन्दा घातक घट्नामा साढे ८ सयभन्दा बढि जना घाइते भएका छन्।

जतिबेला साउदी सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिए, सयौंको मृत्यु भइसकेको थियो भने सयौं घाइते भइसकेका थिए।

बीबीसी संवाददाता फ्र्याँक गार्डनर भन्छन्, "मक्का शहर बाहिर रहेको भिडभाड र तनावग्रस्त मीना नगरमा मानिसहरु किचिएर मर्ने स्थिति कसरी उत्पन्न भयो त्यो प्रष्ट भएको छैन।"

दुई सातामा मक्कामा भएको यो दोश्रो दुखद घट्ना हो।

यसअघि त्यहाँको मस्जिदमा क्रेन ढल्दा १०९ जनाको ज्यान गएको थियो।

आरोप

मोहम्द मुस्तफाले भने, "मैले चिनेका थुप्रै मानिसहरुसँग सम्पर्क गर्न म असमर्थ भएको छु। मोबाइल चार्ज गर्न नपाएकाले उनीहरु सम्पर्कमा आउन सकेका छैनन।"

इरानले साउदी अरेवियामाथि यथेष्ट सुरक्षा प्रबन्ध नगरेको आरोप लगाएको छ।

इरानका सर्वोच्च नेता अयातुल्लाह खमेनीले तीर्थयात्रीको खराब व्यवस्थापनका निम्ति साउदी अधिकारीहरुको आलोचना गरे।

सर्वोच्च इशाई धर्मगुरु पोप फ्रान्सिसले मक्कामा पिडा व्यहोरेकाप्रति सहानुभूति प्रकट गरेका छन्।