साउदीमा मृतकको सनाखत कार्य जारी

  • 25 सेप्टेम्बर 2015
तस्वीर कपीराइट EPA

साउदी अरेबियामा हजका क्रममा मच्चिएको भागदौडमा परी सयौं मुसलमान श्रद्धालुहरु मारिएको २४ घण्टा पछि अधिकारीहरुले मृतकहरुको पहिचान गर्ने प्रयास गरिरहेका छन्।

बिहीबार भएको भागदौडमा मारिनेहरु इरान, टर्की, भारत, इन्डोनेशिया र नेपाल लगायतका मुलुकबाट गएका श्रद्धालुहरु छन्।

साउदी अरेबियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्द शर्माले मक्का नजीकैको मिना शहरमा भएको भागदौडका क्रममा तीनजना र अन्य प्राकृतिक कारणले दुई जना गरी जम्मा पाँच जना नेपालीको मृत्यु भएको बताएका छन्।

आलोचना

ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको सो दुर्घटनापछि इरान लगायतका देशहरुले साउदी व्यवस्थापनको आलोचना गरेका छन्।

साउदी अधिकारीहरुले यो मामिलामा शिघ्र अनुसन्धान थालिने बताएका छन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले साउदी व्यवस्थापनको कडा आलोचना गर्दै तिनीहरु 'असक्षम' भएको आरोप लगाउंदै तिर्थयात्रीहरुको मृत्युको जिम्मेवारी लिन आह्वान गरेको छ।

तस्वीर कपीराइट AFP

उक्त दुर्घटनामा इरानका १३१ जना तीर्थयात्रुहरुको मृत्यु भएको थियो।

बिहीबार साउदी अरेबियाको पवित्र शहर मक्का नजीकैको मिना शहरमा मच्चिएको भागदौडमा किच‌िएर कम्तीमा ७१७ जनाको ज्यान गएको र ८६३ जना घाइते भएका थिए।

प्रश्न

बीबीसीका अरब मामिला सम्पादक सेबास्टीएन अशर भन्छन्,"हाल बिहीबारको भागदौडमा मारिनेहरुको सनाखत गर्ने कार्य जारी रहंदा दुर्घटनाको मुख्य कारण के हो भन्ने विषयमा थप प्रश्नहरु खडा भएका छन्।"

तस्वीर कपीराइट AP

साउदीहरु अझै पनि दुर्घटनाको मुख्य जिम्मेवारी हज तिर्थयात्रुहरुले नै लिनु पर्ने संकेत गरिरहेका छन्।

साउदी अरेबीयाका स्वास्थ्य मन्त्रीले हज तिर्थयात्रुले अधिकारीहरुका निर्देशनको राम्ररी पालना नगरेको बताएका थिए।

त्यसप्रति नाइजेरियाले कडा प्रतिवाद गरेको छ।

साउदी राजा सलमानले हज तीर्थ यात्राको सुरक्षा व्यवस्थाको पुनर्समीक्षा गर्न आदेश दिएका छन्।