हज भागदौड 'मानवीय नियन्त्रण बाहिर'

  • 26 सेप्टेम्बर 2015
Image caption यो वर्षको हज यात्राको शनिबार अन्तिम दिन हो

साउदी अरेबियाका सबभन्दा वरिष्ठ धर्मगुरु शेख अब्दुल अजीज बिन अब्दुल्ला अल शेखले यसै साता हज गर्न गएका सात सयको भागदौडमा परी ज्यान गएको घटना मानवीय नियन्त्रणभन्दा बाहिर रहेको बताएका छन्।

उनले वार्षिक हज तीर्थयात्राको व्यवस्थापन गर्ने जिम्मा पाएका युवराज मोहम्मद विन नायफलाई घटनाको जिम्मेवारीबाट मुक्ति दिंदै नियति र भाग्यलाई कसैले टार्न नसक्ने बताए।

इरान लगायत विभिन्न मुलुकहरुले सुरक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै साउदी अधिकारीहरुको आलोचना गरेको बेला साउदी अरेबियाका सबैभन्दा वरिष्ठ धर्मगुरुको उक्त भनाइ आएको छ।

सो घटना हज यात्राको क्रममा विगत २५ वर्ष यता भएको सबभन्दा भयानक हो।

समीक्षा

साउदी राजा सलमानले सुरक्षा बन्दोबस्तो समीक्षा गर्न आदेश दिएका छन्।

सो घटना यता अन्य गम्भीर घटनाका खबर आएका छैनन्।

सर्वोच्च हज समितिका प्रमुख तथा उपप्रधानमन्त्रीसमेत रहेका युवराज नायफले शुक्रबार साँझ धर्मगुरुलाई भेटेका थिए।

घटना

उक्त घटनामा हालसम्म सबैभन्दा धेरै इरानीहरु मारिएको रिपोर्ट आएका छन्।

कम्तीमा १३४ इरानीले भागदौडमा ज्यान गुमाएका छन् भने ३४० इरानी अझै हराइरहेको बताइएको छ।

दुई साता यता त्यहाँ भएको यो दोस्रो दुर्घटना थियो।

यसअघि मक्कास्थित ग्राण्ड मस्जिदमा एउटा क्रेन खस्दा एक सयभन्दा बढीको ज्यान गएको थियो।