‘अमेरिकी अस्त्र अल कायदाको हातमा’

  • 26 सेप्टेम्बर 2015
तस्वीर कपीराइट AFP
Image caption अमेरिकाले दिएको मध्ये करिव एक चौथाई सामग्री अल नुस्राको हातमा पुगेको बताइएको छ

अमेरिकी सेनाले तालिम दिएका सिरियाली विद्रोहीले आफ्ना केही सैन्य उपकरण अल कायदा सम्बद्ध लडाकुलाई बुझाएका छन्।

उक्त समूहले आफू रहेको भूभागमा सुरक्षित आवतजावत गर्न अल नुस्रा फ्रन्टलाई सैन्य सामग्री बुझाएको ठानिएको छ।

यसअघि पेन्टागनले न्यु सिरियन फोर्सेसका सदस्यले धोका दिएको वा उनीहरुले अरुलाई हतियार बुझाएको भन्ने समाचारहरु अस्वीकार गरेको थियो।

विद्रोहीले अमेरिकाले उनीहरुलाई दिएको मध्ये करिव एक चौथाई सामग्री बुझाएको बताइएको छ, जसमा छ वटा ट्रक र र केही गोलीगठ्ठा छन्।

लज्जास्पद

अमेरिकाले सिरियामा इस्लामिक स्टेट लडाकूसँग भिड्न नरमपन्थीहरुको विद्रोही फौज बनाउने गरेको छ।

प्रारम्भिक चरणमा तालिम र सामग्रीकानिम्ति करिव पचास करोड डलर खर्चिने उसको योजनाको निम्ति यो पछिल्लो लज्जस्पद घट्ना हो।

उनीहरुलाई पहिले त उपयुक्त पात्र पाउनै मुश्किल परेको थियो र गत जुलाईमा ५४ जनाको पहिलो समूह आक्रमणमा परेको थियो।

उनीहरुमाथि के भएको थियो भन्ने पेन्टागनले अझै ठम्याइसकेको छैन।

अमेरिकी अधिकारीहरुले वास्तवमा भएको के हो पत्ता लगाउन र त्यसलाई कसरी संबोधन गर्ने भन्ने प्रयत्न भइरहेको बताएका छन्।