हराइरहेका विद्यार्थीको सम्झनामा हजारौंको प्रदर्शन

  • 27 सेप्टेम्बर 2015
तस्वीर कपीराइट AFP
Image caption घट्नालाई लिएर सरकारप्रति मेक्सिकोमा ठूलो आक्रोश छ

मेक्सिकोमा एक वर्षअघि स्थानीय समय अनुसार आजकै दिन ४३ जना विद्यार्थी हराएको घट्नाको विरोध र उनिहरुको सम्झनामा हजारौं मेक्सिकनहरुले सडकमा प्रदर्शन गरेका छन्।

दक्षिणी राज्यस्थित इग्वाला शहरबाट हराएका विद्यार्थीका परिवारका सदस्यले नेतृत्व गरेको प्रदर्शनमा अन्य मानिसहरुले साथ दिएका थिए।

राजधानीमा गरिएको प्रदर्शनमा केहीले बोकेका प्ले कार्डहरुमा सरकार र राष्ट्रपतिविरुद्ध नाराहरु लेखिएका थिए।

प्रश्न

एउटा सरकारी अनुसन्धानले ती विद्यार्थीहरु एउटा आपराधिक समूहलाई बुझाइएको, मारिएको र उनीहरुको शवलाई फोहरको फाल्ने ठाउँमा जलाइएको निष्कर्ष निकालेको थियो।

तर उक्त निचोडलाई उनीहरुका परिवारका सदस्यहरुले मात्र अस्वीकार गरेका छैनन, हालै स्वतन्त्र विज्ञहरुको समूहले दिएको रिपोर्टले पनि सरकारी अनुसन्धानको विश्वसनियतामा प्रश्न उठाएको छ।

घट्नाबारे सरकारी रवैयाप्रति मानिसहरुले आफ्नो आक्रोश व्यक्त गरेको उक्त प्रदर्शनमा विद्यार्थी हराएको दिनलाई घृणाको दिनको संज्ञा दिइएको छ।

विद्यार्थीहरुको अपहरणलाई लिएर सरकारविरुद्ध त्यहाँ ठूलो आक्रोश छ।

खाडल

करिव एक साताअघि राष्ट्रपतिले विद्यार्थीका परिवारजनलाई भेटेर आफू उनीहरुको साथमा रहेको भन्दै सहानुभूति दर्शाएका थिए।

उनले के भएको हो भन्ने कुराको जरोसम्म आफू पुग्न चाहेको पनि बताए।

बीबीसीकी एकजना संवाददाता भन्छिन, "तर सरकारी अनुसन्धानमाथि उठेको प्रश्नसँगै पीडितका परिवारजन र अधिकारीहरुबीच अविश्वासको गहिरो खाडल देखिन्छ।"

अनुसन्धानको सिलसिलामा एक सयजनालाई गिरफ्तार गरिए पनि कोही पनि दोषी ठहर्याइएका छैनन्।