भट्टराईलाई पार्टीमा फर्कन आह्वान 'गरिने'

  • 27 सेप्टेम्बर 2015
Image caption बाबुराम भट्टराईलाई पार्टीमा फर्काउन पहल हुने एमाओवादी प्रवक्ताले बताएका छन्

एकीकृत नेकपा माओवादीको आइतबार बस्ने केन्द्रीय समितिको बैठकले शनिवार पार्टी परित्याग गरेका नेता बाबुराम भट्टराईलाई पार्टीमा फर्किन आवहान गर्ने सो पार्टीका प्रवक्ताले बताएका छन्।

भट्टराईकै माग अनुसार डाकिएको बैठक अगावै उनले पार्टी छाडेको बताइएको छ।

संविधान जारी गरे पछिको परिस्थितिका बारेमा छलफल गर्ने भनिएको उक्त बैठकमा तराई क्षेत्रका केही केन्द्रीय सदस्यले सहभागी नहुने बताएका छन्।

संविधान जारी गरे पछि देशका विभिन्न भागमा भैरहेका आन्दोलन र पार्टी भित्र देखिएका असन्तुष्टीका माझ केन्द्रीय समितिको बैठक बोलाइएको थियो।

'हतारको निर्णय'

तर बैठक शुरु हुनु अघिल्लो दिन पूर्व प्रधानमन्त्री एवं पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले दिएको राजिनामालाई एकीकृत नेकपा माओवादीले हतारको निर्णय भनेको छ।

प्रवक्ता दिनानाथ शर्माले भने "उहाँकै माग अनुसार यो बैठक बोलाइएको हो, एकाएक उहाँले राजिनामा दिनु भयो, यसले पार्टीलाई गम्भिर बनाएको छ, हामी यस बारेमा छलफल गर्छौं।"

केन्द्रीय समितिको बैठकबाट उनलाई पार्टीमा फिर्ता आउन आग्रह गरिने शर्माले बताए।

उनले भने "पहिलो चरणमा राजिनामामा पुर्नविचार गर्नुहोस भनिन्छ, आशा छ उहाँले आफ्नो निर्णयमा पुर्नविचार गर्नु हुने छ।"

नयाँ शक्ति

तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने केही पोलिटव्युरो सदस्य र केही केन्द्रीय सदस्यले भने भटराईको निर्णयको समर्थन गर्दै आफुहरुले पार्टी परित्याग गरेको जनाएका छन्।

तिनै मध्यका एक पोलिटव्युरो सदस्य रामचन्द्र झाले भने- 'केन्द्रिय समितिको बैठकमा सहभागी हुदैनौ भनेर भनि सकेका छौं, अव पार्टी सदस्य सदस्यता सँग हामीलाई कुनै मतलव छैन, अव हामी सबै छोडेर नयाँ शक्ति निर्माणको दिशामा लाग्छौं।'

भट्टराई निकट मानिने अन्य नेताहरुले भने भटराईको राजिनामा पछि पनि आफुहरु केन्द्रीय समितिको बैठकमा सहभागी हुने बताएका छन्।

उनीहरुले भट्टराईको राजिनामा पछि पार्टी भित्र उनले उठाउँदै आएको विषयमा बहस गर्ने बताएका छन्।