'डा. केसीको अवस्था अहिलेसम्मकै नाजुक'

  • 28 सेप्टेम्बर 2015
तस्वीर कपीराइट bbc
Image caption डाक्टर केसी अनसन बसेको स्थल यसपटक शुन्यप्राय: छ

चिकित्सा शिक्षामा सुधारका माग राखि सातौं पटक अनशन बसेको दशौं दिन पुग्दा डाक्टर गोविन्द केसीको अवस्था यसअघिका समयमा भन्दा एकदमै नाजुक बन्दै गइरहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

तर अनसनरत डाक्टर केसीको मागको सुनवाइ तर्फ सरकारी पक्ष भने मौन देखिएको छ।

छैटौ पटक १४ दिन लामो अनसन बसेका गोविन्द केसी, आफ्नो स्वास्थ्य अवस्था राम्ररी तंग्रिन नपाउँदै पुन सातौं पटक अनसन बसेका थिए।

केसीले सरकारसंग गरेको ११ बुदे सम्झौता अक्षरश कार्यन्वयन गर्न माग राख्दै १० दिनदेखि अनसनमा बसिरहेका छन्।

कमजोर

यसअघि अनसनको १४ दिनसम्म पनि टाठो देखिने गरेका डाक्टर केसी सोमबार बोल्न सक्ने अवस्थामा थिएनन्।

केसी अनसन बसेको विगतका अवस्थाको तुलनामा अहिले सबैभन्दा जटिल अवस्था रहेको उपचारमा खटिएका डाक्टर पुकार घिमिरेले बताए।

उनले भने, "यसपटक उहाँ अलि बढी लट्ठिएको जस्तो हुनुहुन्छ। दिमाग अलिकति सुस्त भएको छ। उहाँको शरिरमा नुन र इलेक्ट्रोलाइट्सहरु कम मात्रामा छ। रगतको नशाहरु सुन्निएको छ। उहाँको अवस्था जुनसुकै बेला खस्किएर इमरजेन्शी भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ।"

एकातर्फ डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ भने अर्को तर्फ सरकारी तर्फबाट बार्ताको कुनै पनि प्रयास नभएको जनाइएको छ।

अनसन कक्ष पनि सुनसान प्राय देखिएको छ।

अनुरोध

सरकारबाट कुनैपनि पहल नहुँदा सोमबार केसीको समर्थनमा जुटेका शिक्षण अस्पताल महाराजगंजका आवासीय चिकित्सकहरु तथा अन्य सहयोगीहरु अनौपचारिक कुरा गर्न प्रधानमन्त्री कार्यालय पुगेका थिए।

तर डाक्टर केसीको अनसनबारे प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले भने अहिलेको अवस्थामा अनसन तोड्न सुझाए।

उनले भने, "अहिलेको विषम परिस्थितिमा अनसन बस्नुभन्दा केही आफ्ना मागहरु क्लियर गर्नुछन् भने बाहिरै बसेर घचघचाउनु राम्रो हुन्छ। उहाँलाई हाम्रो अनुरोध अनसन तोड्नु राम्रो हुन्छ।"

सरकारले डाक्टर केसीका अधिकांश माग पूरा गरिसकेकाले अनसन बस्न जरुरी नरहेको सरकारी पक्षको भनाई आईरहेका बेला माथेमा प्रतिवेदन विपरित प्रधानमन्त्रीको साटो शिक्षामन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोग बनाएर आफ्ना मागको सरकारले बेवास्ता गरेको डाक्टर केसीको भनाई छ।