इन्धन संकटसंगै वितरणमा ‘कोटा प्रणाली’

  • 28 सेप्टेम्बर 2015
इन्धन अभाव
Image caption पेट्रोलियम पदार्थको चरम अभाव भएपछि सवारी चाप कम गर्न सरकारले 'जोर-विजोर' प्रणाली शुरु गरेको छ

नेपाल-भारत सीमा नाकामा अवरोधका कारण देशभर इन्धनको चरम अभाव देखिन थालेपछि नेपाल आयल निगमले सोमबारबाट सवारी साधन हेरी निश्चित परिमाणमात्रै इन्धन दिने कोटा प्रणाली लागू गरेको छ।

सवारी साधन अनुसार एक साता वा दिन बिराएर तीनदेखि ३० लिटरसम्म पेट्रोल तथा डिजेल, निश्चित पेट्रोल पम्पहरुबाट उपलब्ध गराइने अधिकारीहरुले बताएका छन्।

इन्धन अभाव चर्कदैं जांदा गते अनुसार जोर र बिजोर नम्बरका सवारी साधन चलाउने नियम ल्याइएको भोलिपल्टदेखि कोटा प्रणाली पनि लागू गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए।

राजधानी काठमाण्डूमा सेना, प्रहरी, सशस्त्र प्रहरी र साझाका गरी करिब एक दर्जन पेट्रोल पम्पबाट इन्धन वितरण गर्ने योजना सरकारको छ।

‘मितव्ययी’

Image caption भारतसँगको सीमा नाकामा तराई केन्द्रित दलको अवरोध जारी रहेपछि पेट्रोल अभाव चर्किएको हो

काठमाण्डूका लागि एक हप्ता पुग्ने पेट्रोल र १५ दिन पुग्ने डिजल सञ्चित रहेको निगमले बताएपनि मितव्ययी प्रयोगका लागि पछिल्ला नियमहरु ल्याइएको अधिकारीहरुले बताएका छन्।

निगमका अनुसार सामान्य अवस्थामा दैनिकजसो ६ हजार सिलिण्डर ग्यास र तीन सयसम्म ट्यांकर तेल भित्रिने गरेमा पछिल्ला केही दिन त्यो क्रम ठप्पप्राय वा दुई प्रतिशतको हाराहारीसम्म छ।

नयां संविधान घोषणाप्रति रुष्ट देखिएको छिमेकी भारतले अघोषित नाकाबन्दी लगाएको कारण पछिल्लो परिस्थिति निम्तिएको नेपाली पक्षले निचोड निकालेको छ तर भारतीय पक्षले नेपालतिरकै अस्थिरतालाई दोष दिएको छ।

यस्ता परस्परविरोधी धारणाबीच आपूर्ति सहज नहुने देखिएपछि निगमले व्यापारिक सम्झौता अनुसार नियमित इन्धन नपाए निजी क्षेत्र वा अन्य मुलुकबाट इन्धन ल्याउने विकल्पबारे सोच्न थाल्ने भन्दै भारतीय आयल निगमसंग असन्तुष्टि पोखेको अधिकारीहरुले बताएका छन्।