कुन्दुजलाई मुक्त गर्ने सरकारी प्रयास जारी

  • 29 सेप्टेम्बर 2015
तस्वीर कपीराइट
Image caption कुन्दुज शहरलाई तालिबानले अचानक कब्जामा लिएपछि राष्ट्रपति गनीको सरकारमाथि दबाब परेको छ

अफगान शहर कुन्दुजलाई तालिबान विद्रोहीहरुको कब्जाबाट मुक्त गर्ने सरकारी फौजको प्रयास जारी छ।

सोमबार उक्त शहरलाई विद्रोहीले कब्जामा लिएपछि तिनलाई हटाउन काबुल तथा छिमेकका प्रान्तहरुबाट थप सरकार फौज पठाइएको छ।

केही सरकारी भवनहरु मुक्त पारि सकिएको अफगान राष्ट्रपति अशरफ गनीले बताएका छन्।

उत्तर एटलान्टिक सन्धी संगठन नेटोका प्रवक्ताले अमेरिकी जेटले कुन्दुजको बाहिरी क्षेत्रमा रहेका तालिबान समूहलाई हमला गरेको बताएका छन्।

प्रतिबद्धता

सन् २००१ मा अमेरिकी नेतृत्वमा अफगानीस्तानमा अतिक्रमण गरिए यता विद्रोहीले कब्जामा लिएको यो नै पहिलो प्रान्तीय राजधानी हो।

विद्रोहीहरुले अफगान फौज र अधिकारीहरुलाई विमानस्थल तर्फ धपाइदिएका थिए भने जेलबाट सयौंलाई मुक्त पारेका थिए।

यो हमला राष्ट्रपति गनीको सरकार गठन भएको एक वर्ष पूरा हुँदै गर्दा भएको छ।

टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति गनीले कुन्दुजलाई पुन कब्जामा लिने प्रतिबद्धता जनाए।

विद्रोहीहरुले गैरसैनिकलाई मानव ढाल बनाएको उनले आरोप लगाए।

आग्रह

कतिपय विवरणहरुका अनुसार तालिबान लडाकूहरु गैरसैनिकमाझ मिसिने प्रयासमा छन् अनि हवाई हमलाले गैरसैनिक हताहती भएका छन्।

अफगान सरकारले भनेको छ शहरलाई पुन: आफ्नो पकडमा लिन मंगलबार सयौं थप फौज खटाइएको छ।

अधिकारीहरुका अनुसार भारी लडाईंका माझ सुरक्षा फौजले प्रान्तीय जेल तथा प्रहरी मुख्यालयमा नियन्त्रण जमाएका छन्।

तालिबानका नयाँ नेता मुल्लाह अख्तर मन्सुरले अफगान सरकारले पराजय स्वीकार गर्नुपर्ने बताए।

कुन्दुजका बासीहरुले आफ्नो जीवन र सम्पत्तिबारे चिन्ता गर्नु नपर्ने भन्दै नियमित जनजीवन व्यतीत गर्न उनले एक वक्तव्यमार्फत आग्रह गरेका छन्।