डा. केसीद्वारा अनसन स्थगित

  • 29 सेप्टेम्बर 2015
Image caption डा. केसीको अनसनप्रति सरकारले यसपटक खासै चासो देखाएको थिएन

अनसन बसेको ११ दिनमा डाक्टर गोविन्द केसीले देशको विषम परिस्थिति र शुभेच्छुकहरुको चाहना अनुसार भन्दै अहिलेलाई आफ्नो अनसन स्थगित गरेका छन्।

अहिलेसम्म अनसन बसे मध्येकै स्वास्थ्य अवस्था सबैभन्दा जटिल बनेको भनी उनको उपचारमा खटिएका चिकित्सकहरुको भनाई आइरहँदा उनले अनसन स्थगित गरेका हुन्।

छैटौ पटक १४ दिन लामो अनसन बसेका केसी, आफ्नो स्वास्थ्य अवस्था राम्ररी सुधार नहुँदै फेरी सातौंपटक पुन: अनसन बसेका थिए।

उनले आफ्ना मागहरु यथावत् रहेकोसमेत बताएका छन्।

कारण

"अहिलेको मेरो अनसनभन्दा राष्ट्रले भोगिरहेको कठिनाई र पीडा कैयौं गुणा ठूलो भएको मैले महसुस गरेको छु," मंगलबार दिउँसो जारी भएको विज्ञप्तिमा उनले भनेका छन्, "मेरो आन्दोलनबाट मुलुक र जनतालाई थप कठिनाइ नहोस् भन्ने तर्फ म सचेत छु।"

सरकारसंग गरेको ११ बुँदे सम्झौता अक्षरश कार्यान्वयन गर्न माग राख्दै अघिल्लो शनिबारदेखि उनी अनसनमा बस्दै आएका थिए।

उक्त सम्झौता अनुसार मन्त्रिपरिषद्को निर्णयले चिकित्सा शिक्षा आयोग गठन गरे पनि प्रधानमन्त्रीको अध्यक्षतामा हुनुपर्ने उक्त आयोग शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको भन्दै उनले सरकारलाई २४ घन्टाको अल्टिमेटम दिएका थिए।

त्यतिञ्जेल सरकारले माग पूरा नगरेपछि उनी फेरी अनसनमा बसेका थिए।

उनले आफुले अनसन स्थगित गरे पनि आन्दोलन जारी रहेको बताएका छन्।

उनको विज्ञप्तिमा उल्लेख छ, "यसपटक अनसनसँग सम्बन्धित मागहरु यथावत छन् र ती मागहरु सम्बोधन नभएको खण्डमा मेरो आन्दोलन जारी रहने छ।"

अनसनको ११ औं दिनसम्म सरकारी पक्षबाट उनको माग सुनुवाईबारे कुनै तदारुकता नदेखाइएका बेला उनको स्वास्थ्य अघिल्ला बखतहरुमा भन्दा निकै विग्रँदै गएको थियो।