चीनसँगका नाका खुलाउन ‘ढिलासुस्ती’

  • 29 सेप्टेम्बर 2015
Image caption पटक-पटकको पहिरोका कारण बाटो खुलाउने प्रयास विफल हुने गरेको अधिकारीहरु बताउँछन्

भारतीय नाकाहरुमा अवरोधका कारण इन्धन संकट गहिरिंदै जाँदा भूकम्पपछि प्रयोगमा आउन नसकेका नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्ने नाकाहरु खुलाउने काम सरकारी ढिलासुस्तीका कारण पूरा हुन नसकेको स्थानीयबासी र व्यापारीहरुले गुनासो गरेका छन्।

बाटो अवरुद्ध हुँदा अर्बौं रुपैयाँ बराबरका सामान नेपाल भित्रिन सकेका छैनन् भने राजस्व संकलन समेत प्रभावित भएको छ।

स्थानीय व्यापारीहरुका अनुसार तातोपानी सडक खण्डमा बिग्रिएको मुख्य बाटो जम्मा चार किलोमिटरमात्र छ।

भूकम्पका कारण बिग्रिएको बाह्रबिसे-तातोपानी खण्डको उक्त बाटो बनाउन सरकारले ढिला गरेकोले नै बाटो नखुलेको उनीहरु गुनासो गर्छन्।

ढिलाई

नाका खुलाउन तातोपानी क्षेत्रमा नै बसेर काम गरिरहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव अर्जुन सापकोटाले भने, “काम गर्नेहरु कहिले तेल छैन् भन्छन्, कहिले विदा त कहिले बजेट छैन् भन्छन्, यसरी काममा ढिलाई भइरहेको छ।”

सडक विभागले एक दुईवटा बाटो खोल्ने मेशिन लगेर काम गरे बाटो खुलाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाई छ।

नेपालमा आयात हुने सामाग्रीहरुको ८० प्रतिशतभन्दा बढी भारतीय नाकाबाट आउँछन्।

त्यहाँबाट पछिल्लो पाँच दिनदेखि अवरोधका कारण नेपालमा अत्यावश्यक सामानहरु आउन छाडेपछि कतिपयले वैकल्पिक नाका तातोपानी खुलाउन पहल गर्न सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

राहत

तर पटक-पटक नाका खोल्न गरिएको प्रयास र चीन सरकारको पहलमा समेत नाका खुलाइने काम गरिएपनि बारम्बार गइरहने पहिरोका कारण बाटो अवरुद्ध हुन पुगेको सरकारी अधिकारीहरु बताँउछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने, “पानी परेपछि १०-२० ठाँउमा पहिरो जान्छ, पन्छाउछौं, फेरि थुप्रिन्छ, अहिलेपनि हामीले बाटो खुलाउने त भन्दैछौं, भगवानलाई प्रार्थना गर्नुपर्छ कि पानी नपरोस्।”

उनका अनुसार मन्त्रालयले सम्पूर्ण शक्ति अहिले तातोपानी नाकासँगै चीनकै अर्को नाका रसुवागढीको केरुङ खुलाउनका लागि लगाएको छ।

चिनियाँ सरकारले समेत नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताइरहेको भनिएको बेला चिनियाँ नाका खुलाउन सकिए केही राहत हुने देखिन्छ।