'सुनौली नाका केही खुकुलो'

  • 30 सेप्टेम्बर 2015
Image caption सुनौलीबाहेक अन्य सीमा नाकामा अवरोध कायमै रहेको बताइएको छ।

नेपाल-भारत सीमा नाका अवरोधको करीब एक साता पुग्नै लाग्दा भारतीय पक्षले बुधबार एउटा महत्वपूर्ण भन्सार विन्दुबाट इन्धन तथा सामान बोकेका केही ट्यांकर र ट्रकहरु नेपाल भित्रन दिएको अधिकारीहरुले बताएका छन्।

भारतीय पक्षले पश्चिमको सुनौली नाका त्यसरी खुकुलो बनाएपनि अन्य प्रमुख प्रवेश विन्दुहरुमा भने बुधबार पनि पछिल्ला दिनकै जस्तो भारतीय पक्षको कडाइ देखिएको विवरण प्राप्त भएका छन्।

नेपाली पक्षले नयां संविधानबाट असन्तुष्ट छिमेकी भारतले अघोषित नाकाबन्दी लगाएको बताउंदै आएको छ।

तर दिल्लीले त्यसलाई नेपालतिरकै प्रदर्शन र अस्थिरतासंग जोड्दै आएको छ।

खुकुलो

बुधबार भारत र नेपालका सीमा क्षेत्रका सुरक्षा अधिकारी तथा भन्सार कर्मचारीहरुको बैठकपछि अपरान्ह देखि सुनौली नाकाबाट मालवाहक ट्रकहरुलाई नेपाल प्रवेश गर्न दिइएको थियो ।

अपरान्ह एक बजे देखि तीन बजे सम्म करीब दुई घण्टाको अवधिमा झण्डै ८० वटा जति मालवाहक ट्रक तथा ट्यांकरहरु नेपाल प्रवेश गरेका थिए।

तर त्यस पछि भने सांझ सम्म विस्तारै छाडिएको एक जना भन्सार एजेन्ट मधु पन्थीले बीबीसीलाई बताए।

“दुई घण्टा सरासर पठाएका थिए। त्यसपछि फेरि ढिलाइ भएको छ,” उनले भने।

बुधबार सुनौली नाकावाट पेट्रोलियम पदार्थ बोकेका ४ वटा ट्यांकर, एउटा अक्सीजन ट्याकंर सहित अन्य सामान बोकेका करीब १ सय वटा ट्रक तथा ट्यांकरहरु नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयका नायव सुब्बा विजय शाहीले बताए।

तराई केन्द्रीत दलहरुले सीमा नाकामा धर्ना दिने बताएपछि सुरक्षाको कारण देखाउँदै भारतीय पक्षबाट करीब एक साता अघि देखि अघोषित नाकावन्दी भएकोमा मंगलबार सुनौलीमा धर्ना बस्न खोजेका आन्दोलनकारीहरुलाई सुरक्षा निकाय तथा स्थानीय वासिन्दाले हटाएपछि त्यहाँको अवस्था सहज बनेको थियो।

यद्यपि देशका अन्य नाकाहरुको अवस्था भने बुधबार पनि ठप्प रहेको बताइएको छ।

संकट

सीमा नाकामा अवरोधको सबैभन्दा ठूलो मार अहिले इन्धनको नियमित आपूर्तिमा परिरहेको देखिन्छ।

बुधबारसम्म सबै खालका सवारी साधनहरुलाई निश्चित परिमाण कोटा तोकेर पेट्रोल र डिजेल उपलब्ध गराउँदै आएको सरकारले बिहीबारदेखि निजी सवारी साधनहरुलाई पेट्रोलियम पदार्थ नदिने भएको छ।

सार्वजनिक सवारी साधन र अत्यावश्यकीय सेवाका लागि भने नियमित कोटा अनुसार नै पेट्रोल र डिजेल उपलब्ध गराइने गृहमन्त्रालयले जनाएको छ।