रुपान्तरित संसदको पहिलो अधिवेशन शुक्रबारदेखि

  • 2 अक्टोबर 2015
तस्वीर कपीराइट bbc
Image caption राष्ट्रपतिले पठाएको पत्र पढेर सभामुखले अधिवेशन प्रारम्भ गर्ने छन्।

संविधान घोषणापछि संविधानसभाबाट रुपान्तरित संसदको पहिलो अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ।

प्रधानमन्त्री, राष्ट्रपति र सभामुख जस्ता प्रमुख पदको चयन हुने भएकोले यो अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ।

यही अधिवेशनमा डेढ महिनायता तराईमा व्यक्त असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयासमा संविधान संशोधन हुन सक्ने चर्चा पनि भएका छन्।

राष्ट्रपति रामवरण यादवको बैठक आह्वानको पत्र सभामुख सुवास नेम्वाङले पढेर सुनाएपछि शुक्रबारबाट रुपान्तरित संसदको पहिलो अधिवेशन प्रारम्भ हुनेछ।

प्रावधान

अधिवेशन शुरु भएको सहमतिका आधारमा एक हप्ताभित्र प्रधानमन्त्री चयन गर्ने प्रावधान नया संविधानमा रहेको छ।

जस अनुसार हालका प्रधानमन्त्रीको राजीनामा र त्यही अनुसार राष्ट्रपतिले गर्ने आह्वानका आधारमा निर्वाचन प्रक्रिया थालिने सभामुख नेम्वाङले बताए।

उनले भने, “राष्ट्रपतिले सहमति प्रधानमन्त्री चयन भयो भने संसदलाई पठाउँछन्, भएन भने अब संविधान नियम बमोजिम प्रधानमन्त्री चयन गर्न आवश्यक कार्य गर्नुस् भनेर संसदलाई लेखेर पठाउँछन्।”

तर दलहरुबीचको छलफल निष्कर्षमा नपुगेकोले राष्ट्रपतिलाई प्रधानमन्त्री चयनको आह्वान गर्न समय कहिले दिने भन्नेबारे टुंगोमा पुगेको देखिएको छैन।

राजीनामा

प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने अधिवेशनमा शुक्रबार पहिलो दिन संसद संचालन गर्न आवश्यक नियमावली बनाउन समिति बनाइने सभामुख नेम्वाङले बताए।

उनले भने, “संसद रुपान्तरित भयो, संविधानसभा रहेन, त्यसले गर्दा यस्तो अवस्थामा काम चलाउ नियमावली बनाउने अनि स्थायी नियमावली बनाउन पनि छलफल शुरु गर्ने भन्ने कुरा छ।”

प्रधानमन्त्री सुशील कोइरालाले संसदको बैठक आह्वान हुनासाथ आफ्नो पदबाट राजीनामा दिने बताएकोले उनले शुक्रबारनै पद छाड्ने आंकलन पनि गरिएको छ।

तर मुख्य तीन दलबीच तराई तनाव र सीमा नाका अवरोधको समाधानलाई लिएर केही खटपट भएको खबरहरुमाझ प्रधानमन्त्रीले राजीनामा दिन ढिलाई हुन सक्ने टिप्पणी समेत कतिपयबाट आएको छ।