सिरिया संकटबारे पेरिसमा कुराकानी

  • 2 अक्टोबर 2015
पुटिन, ओलाँद तस्वीर कपीराइट AP
Image caption दुबै नेताहरुले सिरिया संकटबारे कुराकानी गरेका थिए

यसै साता सिरियामा बम हमला शुरु गरेका रुस तथा फ्रान्सका नेताहरुले पेरिसमा सिरिया संकटबारे कुराकानी गरेका छन्।

फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलान्दले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई एलिजे प्यालेसमा स्वागत गरेका थिए।

रुसी राष्ट्रपति पुटिन एलिजे प्यालेस पुग्दा सैनिक व्याण्डले उनको स्वागत गरेको थियो।

त्यहाँ उनको राष्ट्रपति ओलान्दसंग सिरियामा मस्कोको सैनिक हस्तक्षेपबारे कुराकानी भएको थियाे।

संलग्नता

रुसले भनेको छ, उसले इस्लामिक स्टेट लगायतका आतंककारी समूहहरुलाई पराजीत गर्न सिरियामा उसको संलग्नता बढाएको छ।

तर अमेरिकी नेतृत्वको गठवन्धनले रुसमाथि उनीहरुले समर्थन गरिरहेका राष्ट्रपति असद विरोधी विद्रोहीहरुलाई निशाना बनाएको आरोप लगाएका छन्।

यो वार्ता खासगरी युक्रेन द्वन्द्व पछि रुस संग अमेरिका र पश्चिमा मुलुकहरुबीच चिसिंदै गएको पृष्ठभूमिमा हुन लागेको हो।

सिरियामा इस्लामिक स्टेट लडाकुहरु विरुद्ध रुसले हवाइ कारवाही शुरु गरेपछि उनीहरु बीचको संबन्ध सुध्रने कतिपयले अनुमान गरेका थिए।

तर अमेरिकी नेतृत्वको गठवन्धनले रुसमाथि उसले सिरियाका राष्ट्रपति असद विरोधी विद्रोहीहरुलाई निशाना बनाएको आरोप लगाएको छ।

कारवाही

एकजना वरिष्ठ रुसी अधिकारीले सिरियामा हवाइ कारवाही अरु तीन, चार महिना चल्न सक्ने बताए।

रुसी वायु सेनाले अस्ती बुधबारदेखि सिरियामा हवाइ हमला शुरु गरेको हो।

रुसी संसदको विदेश मामिला समितिका अध्यक्ष एलेक्सेइ पुस्कोभले भने, "अमेरिकाले अहिलसम्म इस्लामिक स्टेट विरुद्ध हमला गरेको जस्तो मात्रै गरिरहेको छ र रुसको कारवाही त्यो भन्दा निकै बढी प्रभावकारी हुनेछ।"

तर शुक्रबार जारी गरिएको एक वक्तव्यमा संयुक्त राज्य अमेरिका, ब्रिटेन, टर्की र गठवन्धनका अन्य सदस्यहरुले रुसी हमलाले उग्रवाद अरु बढनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरुले रुसी हमलामा राष्ट्रपति असदका विरोधी समूह तथा सर्वसाधारण चपेटामा परेको भन्दै हवाइ हमला तत्काल रोक्न माग गरेका छन्।

रुस राष्ट्रपति असदको सरकारको सबैभन्दा भरपर्दो सहयोगीहरुमध्ये एक हो।

हातहतियार

उसले असद सरकारलाई सैनिक हातहतियार तथा सरसल्लाह उपलब्ध गराउँदै आएको छ।

इस्लामिक स्टेटमाथि हमला गर्ने नाममा अन्य विद्रोही समूहहरुलाई पनि निशाना बनाएर रुसले असदले नेतृत्व गरेको सरकारको आयु लम्बाउन खोजिरहेको पश्चिमा मुलुकहरुले आशंका गरेका छन्।

उनीहरुले राष्ट्रपति असदलाई सत्ता हस्तान्तरणको योजना सहित सरकार छाडन आह्वान गर्दै आएका छन्।

गएको साढे चारवर्ष देखि जारी सिरियाली गृहयुद्धमा अढाइलाख भन्दा बढी सिरियालीहरुको ज्यान गैसकेको छ र दशलाख भन्दा बढी घाइते भएका छन्। झण्डै चालिस लाख सिरियाली शरणार्थीहरु छिमेकी मुलुकहरु तथा युरोपमा शरण लिइरहेका छन्।

यसरी सिरियाली गृहयुद्धले भयावह मानवीय संकट सिर्जना गरिरहँदा क्षेत्रीय तथा विश्व शक्तिहरुको संलग्नताले स्थिति लाई अरु जटिल तुल्याउँदै लगेको जानकारहरु बताउँछन्।