जेरुसलेममा प्यालेस्टिनीको प्रवेशमा रोक

  • 4 अक्टोबर 2015
al_aqsa तस्वीर कपीराइट AFP
Image caption यहुदी र मुस्लिम दुवैका लागि पवित्र मानिने अल अक्सा भनिने यो स्थानमा पनि जान प्रतिवन्ध लगाइएको छ

इजरेलले आफ्ना नागरिकहरुमाथि भएको चक्कु हमलापछि जेरुसलेममा प्यालेस्टिनीहरुलाई आउन रोकेको छ।

दुई दिनसम्म रहने उक्त प्रतिवन्ध त्यही क्षेत्रमा बस्ने प्यालेस्टिनीका लागि भने लागू नहुने बताइएको छ।

शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जना इजरेलीको मृत्यु र एक जना घाइते भएका थिए।

प्रतिवन्ध

शनिबार राति एक जना प्यालेस्टिनीले दुई जना इजरेलीलाई चक्कु हानेर मारिदिएका थिए।

त्यसको केही घण्टापछि अर्को प्यालेस्टिनीले चक्कु प्रहार गरी एक जना इजरेली किशोरलाई घाइते बनाएका थिए।

ती दुवै आक्रमणकारीलाई प्रहरीले गोली हानी मारिदिएका छन्।

उक्त घटनापछि इजरेली प्रहरीले जेरुसलेमको पुरानो नगर क्षेत्रमा प्रवेश गर्न प्यालेस्टिनीहरुमाथि प्रतिवन्ध लगाइदिएको छ।

वेस्ट बैंकमा एक जना इजरेली जोडीलाई गोली हानी मारिएको घटनापछि पछिल्ला हिंसाहरु भएका छन्।

इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले आइतबार आफ्ना सुरक्षा अधिकारीहरुसंग आपतकालीन बैठक गर्दैछन्।

झडप

इजरेलीहरु, स्थानीय व्यवसायीहरु र स्कुले केटाकेटीलाई पनि जेरुसलेम प्रवेशमा रोक लगाइएको छैन।

पहिलो घटनामा आक्रमणकारीले घाइते इजरेलीहरुबाट बन्दुक खोसेर प्रहरी र पर्यटकहरुमाथि गोली प्रहार गरेको प्रहरीकी प्रवक्ताले बताएकी छन्।

त्यसपछि उनलाई प्रहरीले गोली हानी मारिदिएको बताइएको छ।

लडाकु समूह इस्लामिक जिहादले ती आक्रमणकारी आफ्नो सदस्य भएको दावी गरेको छ।

दोस्रो घटनामा एक जना इजरेली किशोरलाई चक्कु प्रहार गर्ने प्यलेस्टिनीलाई पनि प्रहरीले गोली हानी मारिदिएको छ।

प्यालेस्टिनी रेड क्रिसेन्टले पछिल्लो २४ घण्टामा इजरेली सुरक्षा फौज र यहुदी बासिन्दासंगको झडपमा ७० जनाभन्दा बढी प्यालेस्टिनी घाइते भएको जनाएको छ।