एमालेलाई समर्थन नगर्ने कांग्रेसको संकेत

  • 5 अक्टोबर 2015
Image caption शुक्रबारसम्म सहमतिमा प्रधानमन्त्री चयन नभए बहुमतको आधारमा प्रधानमन्त्री चयन हुने प्रावधान छ

नेपाली कांग्रेसले संविधान संशोधन लगायत पुनर्निर्माण प्राधिकरणबारे विगतमा भएका सहमति नेकपा एमालेले पूरा गर्ने नदेखिएको भन्दै आगामी सरकारको नेतृत्वमा उसलाई समर्थन नगर्ने संकेत दिएको छ।

भावी प्रधानमन्त्रीका रुपमा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक रुपमै अघि सारे लगत्तै कांग्रेसले अहिलेको स्थितिमा उसलाई समर्थन गर्न नसकिने बताएको हो।

राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठन गर्न आह्वान गरेको चौथो दिन सोमबार प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

भावी प्रधानमन्त्रीका प्रवल दाबेदारका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार पार्टीको स्थायी समिति बैठकले प्रधानमन्त्रीका रुपमा अघि सारे लगत्तै उसलाई विगतमा समर्थन गर्ने भन्दै आएको नेपाली कांग्रेसले बोली फेरेको देखिएको छ।

आरोप

तराईका असन्तुष्ट पक्षले माग राख्दै आएको समानुपातिक समावेशी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगायतका विषयमा यसअघि तीन ठूला दलले संविधान संशोधन गरेर माग पूरा गर्ने प्रतिवद्धता जनाएपनि एमाले अहिले त्यसबाट पछि हटेको भन्दै कांग्रेसले आरोप लगाएको छ।

भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको प्राधिकरणलगायत संविधान संशोधनमा एमाले पछि हटेपछि अब सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्ने विषयमा आइतबारको पदाधिकारी बैठकमा छलफल भएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बताए।

उनले भने, "यो प्रतिवद्धता किन एमालेले तोड्दै छ यो विषयमा हामीले गम्भीर रुपमा छलफल गर्नुपर्छ, यदि यस्तै हुने हो भने नेपाली कांग्रेसले मुलुकको स्थायित्वका लागि नेतृत्व छोड्नुहुँदैन भन्ने विषय भएको छ।"

आशा

कांग्रेसकै नेतृत्वमा नयाँ सरकार हुनुपर्ने बताए पनि प्रधानमन्त्री सुशील कोइरालालाई नै निरन्तरता दिने वा अन्य व्यक्ति चयन गर्ने भन्नेबारे छलफल गर्न बाँकी रहेको बडूले बताए।

कांग्रेसले नेकपा एमालेलाई सरकारको नेतृत्वका लागि समर्थन गर्न नसक्ने स्पष्ट रुपमा भनिरहँदा एमालेले भने विगतकै भद्र सहमति भन्दै कंग्रेसको समर्थन पाउने आशा व्यक्त गरेको छ।

पार्टी सचिव प्रदिप ज्ञवालीले भने, "हामीले संविधान निर्माणको समग्र प्रक्रियामा संयुक्त सरकारमा बसेर नेपाली कांग्रेससँग जुन सहकार्य गर्यौं त्यो भन्दा फरक ढंगले अगाडि बढ्ला मलाई चाहिँ त्यस्तो लाग्दैन।"

प्रमुख प्रतिपक्षी रहँदै आएको एकीकृत माओवादीले भने सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा जसलाई प्रधानमन्त्रीको रुपमा अघि सारे पनि आफुहरुले उसैलाई समर्थन गर्न बताएको छ।