‘अस्पताल हमलाको स्वतन्त्र छानबिन होस्’

  • 5 अक्टोबर 2015
एम एस एप अस्पताल तस्वीर कपीराइट AP
Image caption कुन्दुजको अस्पतालमा भएको आक्रमणको अमेरिकी छानबिन अस्वीकार्य हुने एम एस एमको अडान छ

परोपकारी संस्था मिड्साँ सँ फ्रन्तीय (एम एस एफ) ले २२ जनाको ज्यान जाने गरी उत्तरी अफगानी शहर कुन्दुजको एक अस्पतालमा गरिएको बम हमलाको स्वतन्त्र छानबिनको माग गरेको छ।

एम एस एफ भन्छ, अमेरिकी सेनाको लापरबाहीका कारण सो घटना भएको हो।

अमेरिकी पक्षले आफ्नो बचाउ गरिरहेको छ।

तर परोपकारी संस्था एम एस एफले भनेको छ कुन्दुजमा गरिकए आक्रमण स्पष्ट रुपमा युध्द अपराध हो।

विश्वसनीय

त्यहाँ गरिएको आक्रमणमा १२ एम एस एफ कर्मचारी र १० जना बिरामीको ज्यान गएको थियो।

सो घटनाको स्वतन्त्र छानबिनको माग गरिरहेको एम एस एफ भन्छ अमेरिकी नेतृत्वको छानबिन विश्वसनीय हुनेछैन।

अमेरिकी रक्षा मन्त्री याश कार्टरले घटनाबारे पूर्ण अनुसन्धान गरिने बताएका छन्।

उनले त्यहाँ कारवाही गर्ने बेलाको परिस्थिति अन्योलपूर्ण र जटिल रहेको बताएका छन्।

बारम्बार

तर एम एस एफको भनाइमा त्यहाँ अमेरिकी सेनाले अस्पताल भवनलाई ताकेर बारम्बार आक्रमण गरेको थियो।

अमेरिकीहरु भन्छन् त्यहाँ सीधै अमेरिकी सेनालाई ताकेर आक्रमण गर्ने तालेबान विद्रोहीविरुद्ध कारवाही गरिएको थियो।

अफगानिस्तानमा रहेका बीबीसीका एक संवाददाता भन्छन्, “सो अस्पताल क्षेत्रबाट तालिबानहरुलाई धपाइएको छ र पूरै शहरलाई अफगान सुरक्षा फौजले नियन्त्रणमा लिएका छन्।”

उनी भन्छन् अब कुन्दुज अस्पतालमा भएको आक्रमणको छानबिन गर्न सजिलो हुन सक्छ।