मोदीको विदेश नीति: पानी-फोका फुटेको हो?

  • 5 अक्टोबर 2015

सञ्जय मजूमदार

बीबीसी सम्वाददाता, दिल्ली

Image caption नेपाल भारत सीमा नाकामा ११ दिनदेखि अवरोध कायम छ

गत साताको बहुप्रचारित अमेरिका भ्रमणपश्चात नरेन्द्र मोदी भारत फर्किएका छन्। त्यहाँ उनले विश्व नेताहरुसंग अनि शक्तिशाली उद्योगपतिहरुसंग मात्र होइन प्रभावशाली बन्दै गएका भारतीयमूलका अमेरिकीहरुसंग समेत अन्तर्क्रिया गरे।

भ्रमणको सबभन्दा प्रचारित पक्ष सिलिकन भ्यालीमा उनले गरेका भेटघाट रहे। अमेरिकाको प्रविधि व्यापारको केन्द्र रहेको सो क्षेत्रमा थुप्रै भारतीय अमेरिकीहरुले नाम कमाएका छन् अनि कैयौंले प्रविधि कम्पनीको कमान सम्हालेका छन्।

तर उनले अमेरिकामा चर्चा बटुल्दै गर्दा आफ्नै छरछिमेकमा भने समस्या बढेको छ।

भारतको चीनसंगको सम्बन्ध कहिल्यै धेरै राम्रो रहेको छैन; माल्दिभ्ससंगको सम्बन्धमा तनाव छ; अनि श्रीलंकासंग भरखरै केही सुध्रिन थालेको छ। पछिल्ला हप्ताहरुमा आफ्ना दुई सबभन्दा प्रमुख छिमेकीहरु पाकिस्तान र नेपालसंग भारतको सम्बन्ध निर्णायकरुपमै विग्रिन थालेको छ।

आफ्नो विदेश नीतिको केन्द्रमा निकट छिमेकीसंगको सम्बन्ध सुधारलाई प्राथमिकता दिएका प्रधानमन्त्रीका निम्ति यी सुखद समाचार होइनन्। त्यसोभए कुरा कहाँ विग्रियो?

नेपाल

नेपालको नयाँ संविधानलाई लिएर देखा परेको भारतीय असन्तुष्टिले एक पूर्ण कुटनीतिक किचलोको रुप धारण गर्दैछ।

भारत नेपालको शक्तिशाली छिमेकी हो। तर ऊ मात्रै यस्तो देश हो जसले भारतीय सीमामा रहेका नेपाली क्षेत्रमा बढेको विरोधलाई देखाउँदै नयाँ संविधानलाई स्वागत गरेन।

आन्दोलनकारीहरुले भारतबाट नेपाल छिर्ने मुख्य सीमा नाका अवरुद्ध पारेका छन्, जहाँबाट उक्त भूपरिवेष्ठित मुलुकले इन्धनसहित आफ्ना अधिकांश आवश्यकताका सामाग्री भित्र्याउँछ।

नेपालले भारतमाथि आन्दोलन भड्काएको र नाकाबन्दी लगाएको आरोप लगाएको छ। दिल्लीले ती आरोप अस्वीकार गर्दै ट्रक ड्राइभरहरुले नेपालपट्टीको सुरक्षास्थिति दर्शाउँदै सीमा पार गर्न नमानेका जनाएको छ।

घटनाक्रमको यस्तो विकासलाई नेपालीहरुले आश्चर्यपूर्ण अनि बुझ्न नसकिने मानेका छन्।

तस्वीर कपीराइट EPA
Image caption गत वर्ष काठमाण्डौं आएपछि मोदीले आर्जेको सदभाव विलाउँदै गएको बताइएको छ।

गत वर्ष मोदीले आफ्नो कार्यकालको शुरुवाती चरणमै भ्रमण गरेका मुलुकमध्ये नेपाल थियो।

नेपालको राजनीतिका सबै पक्षसंगको वार्तालाप मात्र होइन सर्वसाधारणसंग समेत उनले गरेका अन्तर्क्रियाले ठूलै सदभाव निर्माण गरेको थियो।

तर नेपालमा धेरैले भनेका छन्, उक्त सदभाव अहिले विलाएको छ।

यस्तै भावना भारतभित्रैपनि कैयौंको छ।

संविधानसभाले पारित गरिसकेको संविधान जारी हुनबाट रोक्न विशेष दूतलाई पठाउनुको कुनै अर्थ थिएन भन्छन् नेपाल मामिलालाई नजिकबाट नियाल्दै आएका प्राध्यापक एस डी मुनी।

विदेश सचिव एस जयशंकरलाई संविधान पारित भएको केही घण्टापश्चात विशेष दूतका रुपमा पठाइएको सन्दर्भलाई उनले इंगित गर्दै त्यसो भनेका हुन्।

पाकिस्तान

यदि नेपालसंग सम्बन्ध नराम्रो भएको छ भने पाकिस्तानसंगको सम्बन्ध चाहिं उही पुरानै हालतमा पुगेको छ।

सीमाक्षेत्रमा तनाव छ। संयुक्त राष्ट्रसंघमा दुई देशबीच तीतो वाकयुद्ध चलेको छ। अनि लामो समयदेखि ढिलाई हुँदै आएको शान्ति वार्तामा कुनै प्रगति देखिंदैन।

यो पाटोमा पनि एक वर्ष अघि आशाको त्यान्द्रो देखा परेको थियो।

तस्वीर कपीराइट AFP
Image caption मोदीको कार्यकालमा पाकिस्तानसंगको शान्ति वार्तामा कुनै प्रगति नभएको बताइन्छ

आफ्नो शपथ ग्रहणमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई निम्त्याएर मोदीले सबैलाई चकित पारेका थिए। शरीफले पनि सबैलाई चकित पारेरै उनको निम्तो स्वीकारे।

तर त्यसयता काश्मीर विवादलाई लिएर भारतले दुई देशबीच तय भएको विदेश सचिवस्तरीय वार्ता तथा राष्ट्रिय सुरक्षा सल्लाहकारस्तरीय वार्ता रद्द गर्यो।

भारतीय प्रधानमन्त्रीले किन यस्तो हुन दिए त भन्नेबारे केहीको बुझाई के छ भने यसको एउटा प्रमुख कारणचाहीं मोदीको वरपर रहेका तर यस क्षेत्रको कुटनैतिक अनुभव नभएका सल्लाहकारहरुले उनको विदेश नीति सञ्चालन गरेकाले हो।

उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल एक पूर्व जासुस प्रमुख हुन जसले पाकिस्तानमा काम गरेका छन्। तर उनी अलि कट्टर मानिन्छन्।

विदेश सचिव एस जयशंकर चीन र अमेरिकाबारे मानिएका विज्ञ हुन्। तर उनले भारतका छिमेकीहरुलाई प्रत्यक्ष कहिले बेहोरेका छैनन्।

भारतमा धेरैले ठानेका छन् नरेन्द्र मोदी आफ्नो देशको उत्तम दूत हुन्। यो ठम्याइ किन पनि सही देखिन्छ भने गत १६ महिने उनको कार्यकालमा उनले गरेका थुप्रै विदेश भ्रमणले निकै धेरै चासो र प्रतिक्रिया उत्पन्न गराएको छ।

तर त्यो मात्रै भारतको छिमेकमा दीगो सम्बन्ध बनाइराख्न पर्याप्त नहुन सक्छ जुन उनले छिटो थाहा पाउँदैछन्।