टर्की र नेटोद्वारा रुसमाथि दबाब

  • 6 अक्टोबर 2015
तस्वीर कपीराइट AFP

नेटो र टर्कीले रुसी युद्ध विमानहरुले टर्कीको हवाई सीमाको उल्लंघन गरेको विषयलाई लिएर रुसमाथि दबाब बढाउँदै लगेका छन्।

टर्कीका राष्ट्रपति रिचेप ताइप एर्दोआनले मस्कोलाई अंकारासंगको मित्रता गुमाउने जोखिम नलिन चेतावनी दिएका छन्।

नेटोले हवाई सिमाको उल्लंघन अन्जानमा हुन गएको जस्तो नदेखिने बताएको छ।

नेटोको महासचिव जेन्स स्टोल्टनबर्गले लामो समयसम्म टर्कीको हवाई सिमा उल्लंघन भएको घटनाका सम्बन्धमा रुसले वास्तविक स्पष्टिकरण नदिएको बताएका छन्।

रुसले शनिवार भएको उक्त हवाई सिमा उल्लंघनको घटना खराब मौसमका कारण छोटो अवधिका लागि भएको बताएको छ।

छानविन

तस्वीर कपीराइट Reuters

त्यस्तै उल्लंघनको अर्को घटनाको भने छानबिन भइरहेको रुसले जनाएको छ।

टर्कीको सेनाले सोमबार पनि एउटा पहिचान नखुलेको लडाकु जेट विमानले आफ्ना आठवटा जेट विमानहरुमा रेडार निशाना लगाएको बताएको छ।

आइतबार पनि त्यस्तै प्रकृतिको घटना भएको थियो जुन बेला एउटा पहिचान नखुलेको मिग ट्वेन्टी नाइन जेट विमानले टर्की र सिरियाबीचको सिमाना माथिको आकाशमा पांच मिनेटभन्दा बढी समयसम्म टर्कीको जेटहरुमा रेडार निशाना लगाएको बताइएको छ।

सोमबार सिरियाभित्र रहेका क्षेप्यास्त्र प्रणालीहरुले पनि टर्कीका जेट विमानहरुमा निशाना साधेका टर्कीको सेनाले जनाएको छ।

आरम्भ

गत बुधबार देखि रुसले सिरियामा हवाई हमला आरम्भ गरेको थियो।

तस्वीर कपीराइट AP

मंगलबार उसले पाल्मिरामा रहेका विभिन्न स्थानहरुमा आक्रमण गरेको थियो।

प्राचीन खण्डहरहरुका लागि प्रसिद्ध र हाल इस्लामिक स्टेट उग्रवादीहरुको नियन्त्रणमा रहेको उक्त शहर वरपरका सवारी साधन र अस्त्र भण्डारहरुमा हमला भएको टर्कीको सरकारी टेलिभिजनले जनाएको छ।

टर्कीका राष्ट्रपति रिचेप ताइप एर्दोआनले मंगलबार बोल्दै टर्कीमा हुने कुनै पनि हमला नेटोमाथि हमला गरे बराबर हुने बताएका छन्।