महासभाका पूर्व अध्यक्षमाथि भ्रष्टाचारको आरोप

  • 7 अक्टोबर 2015
तस्वीर कपीराइट Getty
Image caption जन एशले घुस लिएको १३ लाख डलर विलासिताको सामान किन्न खर्च गरेको बताइएको छ

अमेरिकी अधिकारीहरुले संयुक्त राष्ट्रसंघीय महासभाका पूर्व अध्यक्षले एकजना चिनियाँ अर्बपतिसँग घुस लिएको आरोप लगाएका छन्।

न्युयोर्कका अभियोजनकर्ताहरुले पूर्व अध्यक्ष जन एशले राष्ट्रसंघलाई “नाफा कमाउनले एउटा मञ्चको रुपमा परिणत” गरेको आरोप लगाएका हुन्।

अभिययोनकर्ताहरुका अनुसार महासभाका पूर्व अध्यक्ष एशले घरजग्गा व्यवसायका एकजना ठूला व्यापारी निङ्ग ल्याप सेङ्गलाई सरकारी ठेक्कापट्टा पार्न सहयोग गरेका थिए।

घुसको रुपमा १३ लाख अमेरिकी डलर लिएको उनीमाथि आरोप लगाइएको छ।

विलासी

उक्त रकम विलासिताका सामानहरुमा उनले खर्च गरेको बताइएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले उक्त आरोपबाट आफू “स्तब्ध र निकै पीडामा” परेको बताएका छन्।

अमेरिकी संघीय न्यायाधिवक्ता प्रीत भराराले भने, “रोलेक्स घडी, बास्केटबल कोर्ट र सुटका लागि जन एशले आफूले नेतृत्व गरेको विश्वव्यापी संस्था र आफैलाई बेचे, लोभमा परेर उनीहरुले संयुक्त राष्ट्रसंघलाई एउटा नाफामूलक मञ्चमा परिणत गरे।”

अभियोजनकर्ताहरुले भनेका छन्, राष्ट्रसंघको प्रायोजनमा अर्बौ डलरको एउटा सम्मेलन केन्द्र निर्माणमा सघाउने हिसाबले कागजात तयार पार्न एशले एन्टिगुआ र बरबुडाका लागि राष्ट्रसंघको आवासीय प्रतिनिधि र महासभाका प्रमुखको रुपमा आफ्नो पदको प्रयोग गरेका थिए।

बिर्ता

निङ्गले आफू बस्दै आएको मकाउमा उक्त केन्द्र आफ्नो बिर्ताको रुपमा निर्माण गर्ने अपेक्षा गरेका थिए।

उक्त केन्द्रबाट राष्ट्रसंघको भूउपग्रह सञ्चालन गर्ने बताइएको थियो।

अधिकारीहरुका अनुसार एशलाई मंगलबार पक्राउ गरिएको छ।

निङ्गसहित अन्य पाँच जनालाई पनि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।

न्यायाधिवक्ता भराराले अनुसन्धान जारी रहेको र थप व्यक्तिहरु पक्राउ पर्न सक्ने बताए।