'फिफाका तीन पदाधिकारी निलम्बित'

  • 8 अक्टोबर 2015
Image caption फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले भ्रष्टाचार संबन्धी विवाद व्यहोरिरहेको छ

भ्रष्टाचारबारे छानबीन गरिरहेको विश्व फुटबलको प्रशासनिक निकाय फिफाको एक कमिटिले आफ्ना तीनजना सबैभन्दा वरिष्ठ अधिकारीहरुलाई निलम्बन गरीदिएको छ।

फिफाका अध्यक्ष सेप ब्ल्याटर, महासचिव जेरोम भाल्क तथा युरोपेली फुटबल महासंघका अध्यक्ष मिसेल प्लाटिनीलाई नब्बे दिनका लागि अस्थायी निलम्बन गरिएको हो।

भूतपूर्व उपाध्यक्ष चुङ मो जुनलाई ६ वर्षकालागि निलम्बन गरिनुकासाथै जरिवाना पनि गरिएको छ।

स्वीस महान्यायाधिवक्ताले ब्ल्याटर विरुद्ध फौज्दारी कसूरसंबन्धी जाँच शुरु गरेपछि फिफाको आचार समितिले ती निलम्बनहरु गरेको हो।

आरोप

ब्लाटरमाथि फिफाको अहित हुने किसिमको संझौता गरेको र प्लाटिनीलाई बीस लाख डलर भुक्तानी दिएको आरोप लगाइएको छ।

ब्लाटरका एकजना प्रवक्ताले भने, उनी आफुले कुनै गलत काम नगरेको भनी प्रमाणित गर्न इच्छुक छन्।

प्लाटिनीले आफु विरूद्ध गरिएको निर्णयलाई चुनौती दिने जनाएका छन्।

अपेक्षा

फिफाको आचार समितिले निलम्बनको अनुरोध गरेको थियो।

ब्लाटरका सल्लाहकार क्लाउस स्टोल्करले भने, फिफा अध्यक्षलाई निलम्बनको समाचार भन्दा उनी शान्त रहे।

तर उनका कानुनी प्रतिनिधिहरुले उनलाई कुनै सूचना दिइएको अस्वीकार गरे।

उनीहरुले भने, आचार समितिले कुनै निर्णय लिनु अघि प्रमाणहरुको सही समीक्षा र उनीसँग कुराकानी गर्ने अपेक्षा राख्छौं।

अनुसन्धान

ब्लाटर विरुद्धको अनुसन्धान फिफा र उत्तर, मध्य अमेरिका तथा क्यारिबियनस्थित फुटबलको प्रशासनिक निकायका पूर्व अध्यक्ष ज्याक वार्नरबीच सन २००५ मा भएको टेलिभिजन प्रसारण सम्बन्धी अधिकारमा केन्द्रित छ।

र अर्कोचाहिँ रकम फर्स्यौटबारे छ।

ब्लाटरका उत्तराधिकारी हुन खोजिरहेका युरोपेली फुटबल प्रमुख प्लाटिनीले उनलाई दिइएको रकम जायज भएको बताएका थिए।

आचार समितिको बैठक सोमबारदेखि जुरिखमा भइरहेको छ।

साक्षी

फेन्च नागरिक प्ल्याटिनिले अपराधिक अनुसन्धानका लागि सूचना उपलब्ध गराएका छन् तर उनले साक्षीका रुपमा त्यसो गरेको बताएका छन्।

संस्थामा व्यापक भ्रष्टाचार व्याप्त रहेको आरोपबीच ब्लाटरले पाँचौ कार्यकालका लागि गत मे २९ भएको भएको चुनाव जितेका थिए।

तर लगत्तै जुन २ तारिखमा बाहिरिने घोषणा गरेका थिए।

आगामी २६ फेब्रुअरीमा फिफाको असाधारण कंग्रेस समक्ष उनले राजीनामा दिने बताएका छन्।