सरकार गठनबारे अन्यौल कायमै

  • 8 अक्टोबर 2015
Image caption राष्ट्रपति रामवरण यादवले गत शुक्रबार सहमतीय सरकारका लागि आह्वान गरेका थिए

सहमतिको नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमति जुटाउन प्रमुख दलहरु विफल भएका छन्।

तर शुक्रबारदेखि शुरु हुने बहुमतीय प्रक्रिया भित्र पनि अधिकतम सहमति खोजेरै सरकार गठन गरिने प्रमुख दलहरुको भनाइ छ।

सत्ता साझेदार नेपाली काँग्रेसले भने नयाँ सरकार गठनकाबारेमा बिहीबारसम्म ठोस निर्णय गर्न सकेको छैन।

सहमतिको सरकार गठनकालागि राष्ट्रपति रामवरण यादवले दलहरुलाई आह्वान गरेकै दिन देखि नै विभिन्न तहमा छलफल गरेका प्रमुख दलहरुले सहमतिको अन्तिम दिन भेटघाटलाई तीव्र पारे पनि सहमति जुटाउन भने सकेनन्।

आरोप

केही दिन अघि पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री पदको रुपमा अघि सार्ने निर्णय गरेको नेकपा एमालेले बिहीबार काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी र राप्रपा नेपालका नेताहरुसँग छलफल गरेको छ।

शीर्ष नेताहरुबीच विगतमा भएको भनिएको भद्र सहमतिकै आधारमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आएको एमालेले काँग्रेस उक्त सहमतिप्रति इमान्दार नदेखिएकाले सहमति जुटन नसकेको आरोप लगाएको छ।

तर अझै पनि सहमतिको सम्भावना नटरेको एमाले सचिव प्रदिप ज्ञवालीले बताए।

उनले भने, "हामी चाहिँ बहुमतीय प्रक्रिया भित्र पनि अधिकतम सहमति जुटाउने पक्षमा छौं, कम्तीमा त्यो प्रक्रियाबाट जाँदा संविधान निर्माणमा जुन जुन दलहरु संलग्न भए ती दलहरुवीचको सहमतिको सरकार बनोस् भन्नेमा हाम्रो प्रयास केन्द्रित छ।"

लगातार छलफलमा जुटिरहेको हाल सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले भने आफ्नो पार्टीको आधिकारिक निर्णय गरिसकेको छैन।

नयाँ सरकारका विषयमा छलफल गर्न बोलाएको बुधबारको केन्द्रिय समितिको बैठकमा पनि कुनै निर्णय हुन नसके पछि उक्त बैठक शुक्रबारसम्मका लागि सारेको छ।

केन्द्रिय समितिका सदस्यहरुले बोल्ने क्रम सके पछिमात्रै निर्णय गर्ने पार्टी प्रवक्ता दिलेन्द्र बडुले बताए।

प्रयास

बहुमतीय प्रक्रियामा जाने भए पछि शुरु हुने अंकगणितको खेलमा निकै महत्वपूर्ण मानिएको तेस्रो ठूलो दल एकीकृत माओवादीले पनि बहुमतीय प्रक्रिया भित्र पनि सहमति खोज्ने प्रयास गर्ने बताएको छ।

हाल भनिएको भद्र सहमति भित्रै सहमति खोज्ने र नभए विकल्पमा गएर पनि सहमति जुटाउने प्रयास आफुहरुले गर्ने महासचिव कृष्णबहादुर महराले बताए।

उनले भने, "शीर्ष नेताहरुबीचमा भएको भद्र सहमितमै पहिला त्यही कोशिस हुन्छ, त्यही गर्नुपर्छ हामी त्यसैको पक्षमा छौं, भएन भने पनि अरु विकल्पहरु जसमा भए पनि सहमति कायम गर्न अनिवार्य छ।"

दलहरुले बहुमतीय प्रक्रिया भित्र सहमति खोज्ने प्रयास जारी रहेको बताए पनि हालसम्म सहमति जुटने प्रस्ट आधार देखिएको छैन।

सरकार निर्माणका लागि प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमाले एक ठाँउमा उभिएमात्रै स्पष्ट बहुमत पुग्ने देखिन्छ।

यदि त्यसो हुन नसके कुनै दुई दल मिलेर मात्र सरकार बन्ने संख्या हाल व्यवस्थापिका संसदमा छैन।

यदि बहुमतीय प्रक्रियामा गए चौथो दल रापप्रा नेपाल र अन्य तराई केन्द्रित दलहरु निर्णायक शक्तिका रुपमा देखापर्ने प्रष्ट छ।