बहुमतीय सरकारको प्रक्रिया शुरु

  • 9 अक्टोबर 2015
तस्वीर कपीराइट AFP
Image caption संविधानअनुसार बहुमतीय प्रधानमन्त्री छान्दा पनि अधिकतम सहमति खोजिने प्रमुख दलको भनाई छ

राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेपछि संसदको बहुमतका आधारमा सरकार गठन गर्ने प्रक्रिया शुरु हुने भएको छ।

राष्ट्रपति रामवरण यादवको आह्वान अनुसार उक्त प्रक्रिया अघि बढ्न लागेको हो।

सभामुखले प्रधानमन्त्री चयनको कार्य-तालिका आजै प्रकाशित गर्ने जनाइएको छ।

संविधानको प्रावधान अनुसार सहमतिको आधारमा प्रधानमन्त्री चयन हुन संसदमा रहेका सबै ३१ दलले नै समर्थन जनाउनु पर्ने थियो।

नयाँ प्रधानमन्त्री

त्यसका निम्ति दिइएको एक हप्ते समय-सीमामा प्रमुख दलहरुबीच नै सहमतिको पहल हुन नसकेपछि अब बहुमतीय प्रधानमन्त्री छान्ने प्रक्रिया अघि बढ्न लागेको हो।

प्रधानमन्त्री उम्मेदवारको मनोनयन-पत्र २३ गते दर्ता गर्ने गरि कार्यतालिका तय गरिने सम्भावना भएको बताइएको छ।

सभामुख सुवासचन्द्र नेम्वाङले भने, “राष्ट्रपतिको चिठ्ठी आउनासाथ तुरुन्त प्रक्रिया अघि बढाउँछौं। सम्भवत: २४ गतेभित्र देशले नयाँ प्रधानमन्त्री पाउँछ।”

संविधानमा सहमतीय सरकार गठनका निम्ति एक हप्ताको समय तोकिए पनि बहुमतीय आधारमा प्रधानमन्त्री चुन्ने विषयमा भने समय-सीमा तोकिएको छैन।

तस्वीर कपीराइट bbc
Image caption संसदमा रहेका तराई केन्द्रित दलहरु भने आन्दोलनरत छन्

तर स्पष्ट बहुमत प्राप्त गर्ने उम्मेदवार मात्र नयाँ प्रधानमन्त्री बन्ने व्यवस्था छ।

तटस्थ

विगतमा १७ पटकसम्म प्रधानमन्त्री छान्न मतदान भएको थियो।

तर त्यस्तो प्रावधान नरहेको संसद सचिवालयका सह-प्रवक्ता सुदर्शन कुइँकेल बताउँछन्, “यसअघि सभासदहरुले मत दिन्न भन्न पाइन्थ्यो। संशोधन गरेर त्यो व्यवस्था हटाइएको छ। त्यो नियम पनि उल्लंघन गरेमा बहुमत नआउन सक्छ। नियम अनुसार सबैले मतदान गरेमा बहुमत आइहाल्छ होला।”

प्रधानमन्त्रीको दौडमा एकिकृत माओवादीले देखिएको छैन भने नेपाली कांग्रेसमा एकभन्दा धेरै नेताहरु इच्छुक देखिएका छन्।

नेकपा एमालेले भने पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ।