ओलीलाई चुनौती दिन अघि सरे कोइराला

  • 10 अक्टोबर 2015
Image caption नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ

नेपाली कांग्रेसले आफ्ना सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निधो गरेको छ।

कांग्रेस केन्द्रीय कार्य समितिको हिजोको बैठकबाट अन्तिम निर्णय गर्ने जिम्मा पाएका तीन शीर्षस्थ नेताहरु कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले उक्त निर्णय लिएको बताइएको छ।

अबको प्रक्रिया के हुन्छ? प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भने, "दरखास्त हाल्ने र निर्वाचनमा जाने।"

'पूर्व वाचा अनुसार एमालेलाई प्रधानमन्त्रीमा सघाउनु पर्ने पक्षमा रहेका' भनिएका महामन्त्री कृष्णप्रसाद सिटौलाले केहीबेर अघिसम्म आफूले खबर सुने पनि शीर्षस्थ नेताले गरेको निर्णयबारे आधिकारिक रुपमा केही भन्न सक्ने अवस्थामा नरहेको बताए।

सह-महामन्त्री पू्र्णबहादुर खड्काले पनि प्रधामन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्ने अधिकार पार्टी विधानले केन्द्रिय समितिलाई दिएकाले आधिकारिक रुपमा कुनै निर्णय नभएको उल्लेख गर्दै सहमतिप्रति उनी असन्तुष्ट रहेको संकेत दिए।

तर नेता विमलेन्द्र निधिले सो निर्णय गर्न केन्द्रिय समितिको बैठक आवश्यक नरहेको बताउँदै भने, "केन्द्रिय समितले निर्णय गर्ने जिम्मा तीनजना नेतालाई दिएको थियो, उहाँहरुले सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गर्नु भएको हो।"

एमालेलाई साथ

सरकारको दोश्रो ठूलो दल नेकपा एमालेले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन्।

उनको उम्मेदवारीमा एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक छन्।

ओलीलाई अन्य साना दलहरुले पनि समर्थन गरेका छन्।

उनीहरुको समर्थन अन्तिम समयसम्म टिकेमा ओली प्रधानमन्त्रीमा निर्वाचित हुने छन्।

कांग्रेसको पछिल्लो निर्णयबारे प्रतिक्रिया दिँदै एमाले उपमहासचिव विष्णु पौडेलले भने, "हाम्रो भन्नु केही छैन, पार्टी सभापति तथा प्रधानमन्त्री समेत रहेको व्यक्तिले वचनको विश्वसनीयता कायम गर्न सक्नु भएन भन्ने मात्र हाम्रो भनाइ हो।"

त्यसो भए के एमाले आफ्नो उम्मेदवारीमा अडिग रहन्छ?

उनले भने, "तपाई अडिग रहने कुरा गर्नु हुन्छ? हामी चुनाव नै जित्दैछौं।"

आशा

तराई केन्द्रित दलहरुले आफूलाई साथ दिने आशामा नेपाली कांग्रेस देखिन्छ।

तर त्यो संख्या पर्याप्त हुने छैन, सबै जसो साना दलहरुको साथ जुटाउनु पर्ने छ।

हार्ने सम्भावना बलियो देखिँदा पनि कांग्रेस किन चुनावमा उठ्न खोजेको होला?

एमालेलाई समर्थन गरेका नेकपा मालेका महासचिव सीपी मैनालीले बीबीसीसँग भने, "केही साना दलको साथ जुटाउँदै एकीकृत नेकपा माओवादी र राप्रपामा विभाजन आउने आशामा त्यसो गरेको हुनसक्छ।"