एमालेलाई सघाएपछि एमाओवादीभित्र असन्तुष्टि

  • 10 अक्टोबर 2015
brb तस्वीर कपीराइट Reuters
Image caption असन्तुष्टि पोख्ने केन्द्रीय नेतामा प्राय सबै पूर्व माओवादी नेता बाबुराम भट्टराई निकट भनिएकाहरु देखिन्छन्

एमालेको नेतृत्वमा बहुमतीय सरकारलाई समर्थन गर्ने निर्णय गरेको भन्दै एकीकृत माओवादीका कतिपय नेताले पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि पोखेका छन्।

३० जना केन्द्रीय सदस्यले संयुक्त रुपमा शनिबार वक्त्वय निकालेर बहुमतीय सरकारलाई समर्थन गर्ने निर्णय गलत र गैरजिम्मेवार भएको भन्दै त्यसप्रति विमति जनाएका छन्।

विमति जनाउनेहरुमा प्राय, हालै पार्टी परित्याग गरेका नेता बाबुराम भट्टराई निकट भनेर चिनिएका अनुहारहरु छन्।

असन्तुष्टि पोख्ने ३० जनामध्ये प्रभु साहमात्रै सभासद् छन्।

'भट्टराईकै पथ?'

यसअघि स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि शनिबार बिहान बसेको स्थायी समितिको बैठकमा एमालेलाई समर्थन गर्ने निर्णयविरुद्ध लिखित रुपमा फरक मत राखेका थिए।

किन फरक मत त ? जवाफमा पौडेलले बीबीसीलाई भने, “यो समय भनेको राष्ट्रिय सहमतिको सरकार गठनको हो। त्यसले मात्रै तराई तनावको समाधान खोज्न सक्छ अनि भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी ढंगले अघि बढाउन सक्छ।"

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जस्तो फरक मुद्दा बोक्ने पार्टीसंगसंगै सरकारमा सहभागी हुन जानु उपयुक्त नहुने समेत तर्क गरे।

बाबुराम भट्टराई निकट सहयोगी ठानिने पौडेलसहितका नेताहरुको पछिल्लो असन्तुष्टि भट्टराईकै पथ पछ्याउने संकेतका रुपमा धेरैले व्याख्या गरेका छन्।

तर त्यस्ता आशंकाप्रति लक्षित गर्दै पौडेलले भने, “अहिले सम्मका लागि हामी यही(एकीकृत माओवादी) भित्र छौं। पार्टी छोड्ने कुरा भएको छैन।"