अमेरिकाको सिरिया रणनीतिमा 'परिवर्तन'

  • 10 अक्टोबर 2015
तस्वीर कपीराइट AP
Image caption स्थानीय समुहसँग सहकार्य भए आइएसलाई हराउन सकिने उदाहरण कोबाने मानिएको छ

संयुक्त राज्य अमेरिकाले सिरियामा त्यहाँका नरमपन्थी लडाकु खोजेर तालिम र उपकरण उपलब्ध गराउने र आइएस लडाकु विरुद्ध लडाइमा पठाउने उसको रणनीति परिवर्तन गरेको छ।

स्थानीय रुपमा आइएस विरुद्ध लडिरहेका समुह पत्ता लगाएर उनीहरुलाई नै उपकरण प्याकेज दिने नयाँ नीति रहेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

बरिष्ठ अधिकारीहरुले नरमपन्थी सिरियाली शक्तिहरु लक्षित तालिम दिने र उपकरण उपलब्ध गराउने कार्यक्रम त्यागिएको नभै रोकिएकोमा जोड दिइरहेका छन्।

सन्चारकर्मीहरुसँग एक अधिकारीले भने- भविष्यमा हामीले त्यस्तो कार्यक्रम पुन: कार्यान्वयन गर्ने पनि हुन सक्छ।

चुनौतिपूर्ण

तर उनीहरुका अनुसार उक्त कार्यक्रमको कार्यान्वयनक्रममा सिरियामा त्यस्ता व्यक्ति पहिचान गर्न र तिनलाई लडाइमा परिचालित गराउन निकै चुनौतिपूर्ण रहँदै आएको छ।

एक अधिकारीले भने- हामीलाई मान्छे भर्ना गर्न निकै कठीन भयो।

अब पहिले नै मैदानमा रहेका कुर्द, अरब र इशाई समुहहरु पत्ता लगाएर उनीहरुलाई नै उपकरण सहित सबल बनाएर आइएस विरुद्ध थप प्रभावकारी रुपमा परिचालन गरिने नयाँ योजना बनाइएको छ।

अमेरिकाले अब व्यक्तिगत रुपमा कसैलाई नगर्ने र समुहका नाइकेसँग काम गर्ने बताइएको छ।

प्याकेज

अधिकारीहरुले पहिचान गरिएको समुहको राम्रोसँग जाँच गरेपछि मात्रै उपकरण प्याकेज दिइने बताएका छन्।

उनीहरुले पाउने उपकरण पनि यस अघिका जस्ता आधुनिक नभएर आधारभुत किसिमका हुनेछन् जसले गर्दा विपक्षीको हातमा अत्याधुनिक हतियार पुग्ने खतरा घटाउने ठँनिएको छ।

पहिले नै लडाइमा रहेका समुह पत्ता लगाएर आइएस विरुद्ध लडदा हुने फाइदाको प्रभावकारी उदाहरणका रुपमा गत वर्ष कोबानेबाट आइएसलाई पछाडि हटाएको घटनालाई लिइएको छ।