मोदीद्वारा ओलीलाई बधाई

  • 11 अक्टोबर 2015
तस्वीर कपीराइट AP
Image caption विशेषगरी संविधान जारी भएपछि भारतले सीमा नाकाबाट भित्रिने सामानको आपूर्तीमा अवरोध पुर्याउँदै आएको छ

नयाँ संविधान आएदेखिनै नेपालसंग रुष्ट बनेको प्रभावशाली दक्षिणी छिमेकी भारत का प्रधानमन्त्री नरेन्द्र मोदीले सोही संविधान अन्तर्गत पहिलोपल्ट प्रधानमन्त्रीमा निर्वाचित भएका केपी ओलीसंग कुरा गरी बधाई दिएका छन्।

प्रजातान्त्रिक तथा व्यवस्थित निर्वाचनका माध्यमबाट निर्वाचित नेपालका प्रधानमन्त्रीसंग निकट रहेर काम गर्न उत्सुक भएको उनले जनाएका छन्।

साथै उनले ओलीलाई चाँडै भारत भ्रमण गर्न पनि निम्तो दिएका छन्।

नेकपा एमालेले ओलीले मोदीलाई नेपालमा देखिएको इन्धन संकट समाधान गर्न आग्रह गरेको जनाएको छ।

सम्बन्ध

नेपालको नयाँ संविधान प्रति चिसो प्रतिक्रिया देखाएको भारतले त्यही संविधान अन्तर्गत चुनिएका नयाँ प्रधानमन्त्रीबारे कस्तो प्रतिक्रिया देला भन्ने विषयलाई चासोपूर्वक हेरिएको थियो।

तर विगतका परम्परालाई निरन्तरता दिदैँ भारतीय प्रधानमन्त्रीले आइतबार संसदबाट निर्वाचित ओलीलाई टेलिफोन गरी बधाई दिएका हुन्।

काठमाण्डौंस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा ओलीले समाजका सबै क्षेत्रलाई समेटेर अघि बढ्ने र त्यसबाट देशमा शान्ति र स्थिरता हुने भारतीय प्रधानमन्त्री मोदीले आशा व्यक्त गरेको उल्लेख छ।

नेपालका सामु रहेका बाँकि राजनीतिक मुद्दाहरुलाई वार्ता र मेलमिलापको भावनाबाट नेपाल सरकारले सम्बोधन गर्नेमा आफु विश्वस्त रहेको मोदीले जनाएका छन्।

उनले भारत सदा नेपालमा शान्ति, सम्पन्नता र प्रगतिको पक्षमा रहेको र त्यो नै भारतको स्वार्थमा रहेको बताएका छन्।

नेपाली जनताको आकांक्षा बमोजिम शान्ति, स्थिरता र सामाजिक आर्थिक विकासका लागि भारतले सबै सहयोग जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।

ओलीलाई छिट्टै भारत भ्रमणको निम्तो पनि दिइएको छ।

ओलीसँग झन्डै ८ मिनेट कुराकानी गरेका भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन जोड दिएको नेकपा एमालेका प्रमुख सचेतक अग्नी खरेल बताए।

ध्यानाकर्षण

ओलीले चाडबाडको मुखमा नेपालमा इन्धन संकट देखिएकाले त्यसलाई अविलम्ब हल गर्नुपर्ने बताएका थिए।

त्यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै मोदीले केहि समस्या भए ‘लिखित विवरण दिन’ आग्रह गरेको एमालेले जनाएको छ।

आफ्ना ढुवानीकर्ताको सुरक्षामा प्रश्न उठेको भन्दै मालवाहक सवारी साधनहरु सिमापारी रोकिएपछि नेपाली पक्षले भारतले अघोषित नाकाबन्दी गरेको बताउँदै आएका छन्।

केहि दिन पहिले प्रमुख दलहरुले त्यसबारे भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता गर्न हाल कामचलाउ बनेका प्रधानमन्त्री शुसिल कोइरालालाई जिम्मा दिएपनि दुई नेताबिच हालसम्म कुराकानी हुनसकेको छैन्।