'सबैलाई समेट्ने' ओलीको प्रतिबद्धता

  • 11 अक्टोबर 2015
तस्वीर कपीराइट bikash karki
Image caption ओली नेपालका प्रधानमन्त्री हुने छैठौँ वामपन्थी नेता हुन्

नयाँ संविधान अनुसार आइतवार प्रधानमन्त्रीमा निर्वाचित भएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै पक्षलाई समेटेर अघि बढ्ने र भारतको अघोषित नाकाबन्दी हल गर्ने आफ्नो प्राथमिकता हुने बताएका छन्।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई हराउँदै एकीकृत माओवादी, राप्रपा नेपाल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक सहित करिब डेढ दर्जन दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।

नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण कडीका रुपमा हेरिएको प्रधानमन्त्री चुनावमा संविधानका कतिपय प्रावधानको विरोधमा दुई महिना यता आन्दोलन गरिरहेका तराई केन्द्रीत दलहरुले पनि भाग लिएका थिए।

संविधान घोषणा र त्यसयताका घटनाक्रमप्रति असन्तुष्टी व्यक्त गरिरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री निर्वाचित ओलीलाई टेलिफोन गरी बधाइ दिएका छन्।

समर्थन

साना दलका एकाध सभासद बाहेक अन्तिम समयसम्म आफ्ना सबै समर्थक दलहरुको मतलाई एक ढिक्का राख्न सफल भएका एमाले अध्यक्ष ओली ३३८ मत सहित प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

उनका प्रत्यासी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले २ सय ४९ मत पाएका थिए।

प्रधानमन्त्रीमा चुनिनु अघिको आफ्नो सम्बोधनमा ओलीले देशका विभिन्न स्थानमा भइरहेका आन्दोलन सम्बोधन गर्ने, नयाँ संविधानको कार्यन्वयन गर्ने, नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई अघि बढाउने आफ्ना प्राथमिकता भएको उल्लेख गरे।

आफू मधेश विरोधी तथा संकीर्ण रहेको हल्ला फिंजाइएको भन्दै संसदमा प्रतिवाद गरेका ओलीले प्रधानमन्त्रीमा निर्वचित भएपछि सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए।

संसद भवनमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, “सबैसँग मिलेर अघि बढ्ने विचार मैले लिएको छु, सोच बनाएको छु र त्यसअनुसार नै हामी सह प्रयासमा अघि बढ्नेछौँ।”

ओली र उनलाई समर्थन गरेका अधिकांश दलले संविधान जारी भएपछि सत्ताको नेतृत्व एमालेलाई हस्तानतरण गर्ने विगतको सहमतिबाट पछि हटेकोमा काँग्रेसको आलोचना गरे।

त्यसक्रममा कांग्रेसका संस्थापक नेता विपी कोइराला र वामपन्थी नेताहरु पुष्पलाल र मदन भण्डारीलाई ‘राष्ट्रवादी’ को संज्ञा दिंदै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेसले ठूलो भूल गरेको बताए।

उनले भने, “काँग्रेस नराम्रोसँग चुक्यो मलाई दुख छ, कसैले हामीलाई विभाजित गर्न हिजो पनि खोज्यो हामी तयार भएनौँ र सुशीलजीकै नेतृत्वमा एक भएर नयाँ संविधान घोषणा गर्यौ, अहिले पनि त्यही शक्ति र प्रवृतिले हामीलाई विभाजित गरेर यो देशलाई वर्वाद बनाउन चाहेको छ जून हामीलाई मान्य छैन्।”

प्रतिपक्ष

तर हार्ने प्रष्ट देखिंदा देखिंदै प्रधानमन्त्री चुनाव लडेको भनेर आलोचना खेपिरहेका प्रधानमन्त्री कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिने कुनै सहमति आफुले नगरेको र लोकतान्त्रिक पद्धति अनुसार चुनावी मैदानमा उत्रिएको स्पष्टिकरण दिए।

एमालेले आफैँ सहभागी सरकारले असन्तुष्ट पक्षलाई समेट्न दर्ता गराएको संविधान संसोधन र भूकम्पपछिको पुनर्निर्माणका लागि गठन गरिएको प्रधिकरण प्रति असहयोग गरेको उनले बताए।

उनले भने, “आधिकारीक र औपचारिक सहमतिलाई पालना नगर्नेले सहमतिको कुरा गर्नु निरथर्क र औचित्यहीन छ।”

प्रतिपक्षमा बसेर पनि काँग्रेसले नयाँ सरकारलाई सहयोग गर्ने कोइरालाले बताएका छन्।

झन्डै २ घण्टा ढिला सुरु भएको संसद बैठकमा नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णयसहित आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सभासदहरु सहभागी भएका थिए।

नयाँ संविधानबारे प्रमुख दलबीच सहमति भएपछि संविधानसभा बहिष्कार गरेको उक्त मोर्चा दुई महिना यता आन्दोलनमा छ।

विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले भने एमाले अध्यक्ष ओलीलाई मत हालेको थियो।