'राष्ट्रपति पद एमाओवादीले पाउन सक्ने'

  • 11 अक्टोबर 2015
Image caption कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएपछि एमाले उसँग चिढिएको बताइन्छ

विगतमा भएको भनिएको भद्र सहमति नेपाली कांग्रेसले तोडेको भन्दै नेकपा एमालेका एक नेताले अब राष्ट्रपति पद पछिल्लो समीकरणको प्रमुख सहयोगी एकीकृत नेकपा माओवादीलाई दिइने संकेत गरेका छन्।

आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनमा एमालेलाई खुलेर समर्थन जनाइसकेको एकीकृत माओवादीले नयाँ सत्ता समीकरणमा राष्ट्रपति पद स्वाभाविक रुपमा आफ्नो भागमा आउने बताए पनि त्यसको औपचारिक दाबी भने गरेको छैन्।

आफूलाई सघाउनेमा राप्रपा नेपालसहितका दलहरु पनि देखिएकाले अन्य प्रमुख पद पनि सहयोगी शक्तिहरुबीच नै बाँडफाँड गर्ने मनस्थितिमा एमाले नेताहरु देखिन्छन्।

कांग्रेसलाई राष्ट्रपति दिने भद्र सहमति भएको तर सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएपछि शक्ति बाँडफाँडको पूर्व सहमति भत्किएको नेकपा एमालेको भनाई छ।

सम्मानजनक

प्रधानमन्त्रीको प्रत्यासी एमाले अध्यक्ष केपी ओली निकट नेता कृष्णगोपाल श्रेष्ठका अनुसार उनीहरुको गठबन्धनको तर्फबाट अब राष्ट्रपतिमा एकीकृत माओवादीबाट उम्मेद्वार बन्ने छन्।

उनले भने, “नेपाली कांग्रेसले सहमति तोडेकोले अब राष्ट्रपति सम्मानजनक ढंगले एमाओवादीको हुन्छ, पूर्व सहमति अनुसार सभामुख पनि माओवादीलाई नै जान्छ, चौथो ठूलो दल राप्रपा नेपालले सहकार्य गर्न प्रतिबद्धता जनाएको आधारमा उपप्रधानमन्त्री त्यो दललाई जानेछ।”

तर एकीकृत माओवादीका नेताहरुले नयाँ राजनीतिक समीकरण अनुसार राष्ट्रपति पद आफूहरुको पोल्टामा पर्ने बताए पनि त्यसको लागि औपचारिक दाबी भने गरिनसकेको जनाएका छन्।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठनबन्धन सरकारमा आउने सक्ने सम्भावना रहेको भन्दै उनीहरुले त्यसले सम्भावित शक्ति बाँडफाँडलाई प्रभावित गर्न सक्ने बताएका छन्।

स्वभाविक

एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल भन्छन्, “स्वाभाविक रुपले राष्ट्रपति माग गर्नुपर्ने वा दिनुपर्ने ठाँउमा एमाओवादी छ, आज [आइतबार] हाम्रो पदाधिकारीको बैठक बस्दैछ, त्यहाँ शक्ति बाँडफाँडको विषयमा छलफल हुनेछ, राष्ट्रपति, सभामुख, गृह मन्त्रालय जस्ता मन्त्रालयहरुको छिनोफानो त्यसपछि हुनेछ।”

आइतबार हुने निर्वाचनमा प्रधानमन्त्रीका दुई प्रत्यासीमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाभन्दा एमाले अध्यक्ष केपी ओलीको अवस्था बलियो मानिएको छ, जसलाई एकीकृत माओवादी र राप्रपा नेपालसहितका एक दर्जनभन्दा बढी दलको समर्थन देखिन्छ।

तर अन्तिम समयमा प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने कोइरालाको निर्णयलाई संशयपूर्वक हेर्नेहरुले सत्ता समीकरण अन्तिम घडीमा बदलिन सक्ने भन्दै चुनावी परिणाम नआई अहिले नै निष्कर्षमा नपुग्न सचेत गराएका छन्।