'रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने'

  • 14 अक्टोबर 2015
तस्वीर कपीराइट Krishna Thapa
Image caption रसुवागढी नाका सञ्चालनमा आएपछि चीनबाट सामान ल्याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ

भारतबाट सहज रुपमा सामानहरु नेपाल आउन नसकिरहेका बेला चीनसँग जोड्ने रसुवागढी नाका बिहिबारदेखि सञ्चालनमा आउने अधिकारीहरुले बताएका छन्।

व्यवसायीहरुका अनुसार अवरोध हटेसँगै उक्त नाका प्रयोग गरेर सामान ल्याउने तयारी भइरहेको छ।

चीनसँग जोड्ने अर्को तातोपानी नाका भने सञ्चालनमा आउन अझै केही दिन लाग्ने बताइएको छ।

धेरै नेपालीहरुले मान्ने दशैं शुरु भइसक्दा पनि भारतीय नाकाहरुबाट हुने गरेको आयात सहज हुन सकेको छैन्।

तीव्रता

नेपाली बजारको सामान आयात गर्ने अर्को देश चीनसँग जोडिएका तर भूकम्पका कारण सञ्चालनमा नरहेका दुईवटै नाका खोल्ने प्रयास केही सातायता तीव्र पारिएको थियो।

दुवै देशतर्फको प्रयासपछि रसुवागढी नाका भने सञ्चालनमा आउने भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।

उनले भने, “अवरुद्ध बाटाहरु नेपालतर्फ सञ्चानलमा आइसकेका छन् भने चीनतर्फको बाटो पनि खोल्ने काम सकिएको भन्ने जानकारी आएको हुनाले औपचारिक रुपमै बिहिबारबाट हामी त्यो नाका खोल्दैछौँ।”

नाका सञ्चालनका लागि सरकारीस्तरमा स्थापना गर्नुपर्ने भन्सार, अध्यागमन कार्यालय लगायतका सरकारी कार्यालयको स्थापनाको काम दुवै देशका तर्फबाट भइसकेको बताइएको छ।

यातायातलाई सहज रुपमा सञ्चालन गर्न नेपालतर्फको सडकका विभिन्न स्थानमा स्काभेटर र डोजरहरुको व्यवस्था गरिएको पनि गेलालले बताए।

उत्साही

लामो समयदेखि नाका सञ्चालनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका सीमापार व्यापार गर्नेहरु नाका सञ्चालन हुने कुराले उत्साही बनेका छन्।

दशैं शुरु भइसकेकाले जतिसक्दो छिट्टै सामान नेपाल ल्याउने गरी काम गरिरहेको उनीहरुको भनाई छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रमेश बरालले भने, “अझै पनि हाम्रो धेरै सामानहरु खासामै अडकिएको छ र त्यो खासाको कतिपय सामान रसुवागढी हुदै छिट्टोभन्दा छिट्टो नेपाल ल्याउने काममा व्यापारीहरु र हामीहरु लागिरहेका छौँ।”

नेपालमा सामान आयातका लागि महत्वपूर्ण मानिएको चीनसँगको अर्को नाका तातोपानी पनि खोल्नका लागि नेपालका तर्फबाट गर्नुपर्ने सबै काम भइसकेको सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताएका छन्।

चीनले चासो देखाए उक्त नाका पनि छिट्टै सञ्चालनमा आउने उनको भनाई छ।