गैरआवासीय नेपाली संघमा घले पुन: निर्वाचित

  • 15 अक्टोबर 2015
तस्वीर कपीराइट bbc
Image caption सरकारसंग मिलेर भूकम्पपछिको पुनर्निर्माणमा सघाउने घलेको योजना छ

विदेशमा रहेका नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ (एनआरएन)को काठमाण्डौंमा भएको सातौं अधिवेशनले शेष घलेलाई अध्यक्ष पदमा पुन: निर्वाचित गरेको छ।

अष्ट्रेलियामा बसोबास गर्दै आएका घलेले ८६७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कतारमा व्यवसाय गर्दै आएका टेकबहादुर कार्कीले २६६ मत प्राप्त गरेका थिए।

अर्का प्रत्याशी रतन झाले विहिबार बिहानै घलेको पक्षमा उभिने भन्दै उम्मेदवारी फिर्ता लिएका थिए।

नयाँ कार्यसमितिमा भवन भट्ट र कुमार पन्त उपाध्यक्ष, वद्री केसी महासचिव, हिक्मत थापा कोषाध्यक्ष र अर्जुन श्रेष्ठ सचिवमा निर्वाचित भएका छन्।

पुनर्निर्माणमा ध्यान

निर्वाचित भएलगत्तै घलेले अब आफ्नो ध्यान भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पुर्याउनप्रति केन्द्रीत हुने बताएका छन्।

हालै उक्त संघले आउने २ वर्षभित्र पाँच जिल्लामा एक हजार घर बनाउन सरकारसंग सम्झौता गरिसकेको छ। त्यसका निम्ति उसको कोषमा ३५ करोड रुपियाँ जम्मा भइसकेको बताइएको छ।

ती घर शहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको भूकम्प प्रतिरोधी, वातावारण सुहाउँदो तथा स्थानीय संस्कृति मैत्री मापदण्डमा आधारित भएर एकीकृत वस्ती विकासको नमूनाका रुपमा बनाइने योजना उनको छ।

त्यसलगायत घलेले नेपालीहरुलाई प्राविधिक तथा व्यावसायिक सीप तालीम दिने योजना कार्यान्वयन गर्ने बताएका छन्।

अष्ट्रेलियाका धनाढ्यमध्येका एक घलेको त्यहाँ व्यापार व्यवसायको विशाल सञ्जाल रहेको छ।

हालको अधिवेशनमा करीब ७० देशका १५ सयभन्दा धेरै गैर आवासीय नेपालीहरु सहभागी भइरहेका छन्।