सभामुख र उपसभामुखका लागि मतदान आज

  • 16 अक्टोबर 2015
Image caption सत्तारुढ दलहरुले एमाओवादीकी ओनसरी घर्तीलाई सभामुख पदका लागि उम्मेदवार बनाएका छन्

सहमतिका आधारमा दलहरुले सभामुख र उपसभामुख चयन गर्न नसकेपछि आज शुक्रवार ती पदहरुका लागि संसदमा निर्वाचन हुने भएको छ।

सरकारमा रहेका दलहरुले एकीकृत माओवादीका तर्फबाट यसअघि उपसभामुख रहेकी ओनसरी घर्तीलाई उम्मेदवार बनाएका छन् भने ती पदहरुमा उम्मेदवारी दिने निर्णय गरेको छ।

सबै दलको सहमति सहित बिहिबारसम्म कसैको उम्मेदवारी नपरेपछि शुक्रबार मतदानद्वारा उक्त प्रक्रिया टुङग्याउन लागिएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए।

उनले भने, “तीन बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा सभामुख पदको निर्वाचन प्रक्रिया शुरु हुने छ र पाँच बजे बस्ने बैठकमा उपसभामुख पदको निर्वाचनको प्रक्रिया शुरु गरिने छ।”

प्रक्रिया

मतदान प्रक्रियामै जाने भएपछि सत्तारुढ गठबन्धनमा रहेको राप्रपा नेपालले उपसभामुखमा गंगाप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रतिपक्षी दल नेपाली काँग्रेसले ती लगायतका पदहरुमा उम्मेदवारीका विषयमा बिहिबार तराई केन्द्रित दलहरुसँग छलफल गरेको थियो।

पार्टीको तर्फबाट को उम्मेदवार बन्ने भन्नेबारेमा शुक्रबारमात्रै निर्णय गरिने काँग्रेस प्रवक्ता दिलेन्द्र बडुले बताएका थिए।

उनले भनेका थिए, “प्रतिस्पर्धामा जानु स्वभाविकनै हो र हामी सो प्रयोजनका निम्ति कुन कुन पदमा को जाने भन्ने सन्दर्भमा परामर्श र सल्लाह गरिरहेका छौँ, त्यसका आधारमा शुक्रबार बिहान पदाधिकारी बैठक बसेर निर्णय गर्छौँ।”

निर्णय

तर विहान बसेको पदाधिकारीहरुको बैठकले दुबै पदमा उम्मेदवार नउठाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निर्वाचनमा काँग्रेस उम्मेदवारलाई सघाएका आन्दोलनरत तराई केन्द्रित दलहरुले भने हालसम्म सभामुख र उपसभामुख निर्वाचनमा भाग लिने वा नलिने भन्ने बारेमा निर्णय गरि सकेका छैनन्।

गठबन्धनमै रहेको सद्भावना पार्टीले भने भाग नलिनुपर्ने धारणा राख्दै आएको उक्त पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए।

संविधानसभाका ती दुई पदमा निर्वाचन भएपछि राष्ट्रपतिको चुनावको तयारीमा राजनीतिक दलहरु जुट्ने ठानिएको छ।