धार्मिकस्थलमा प्यालेष्टीनी आगजनीको निन्दा

  • 16 अक्टोबर 2015
तस्वीर कपीराइट Israeli Military Spokesman

प्यालेष्टीनी प्रशासनका अध्यक्ष महमुद अब्बासले, यहुदी र ईशाईहरुको एउटा धार्मिक स्थलमा भएको प्यालेष्टिनी आगजनीको निन्दा गरेका छन्।

महमुद अब्बासले भने, वेस्ट ब्यांकको नाब्लुस नगरमा रहेको जोजफको चिहानमा भएको आगजनीको कार्य गैरजिम्मेवारीपूर्ण हो।

उनले सो धार्मिक स्थलको पुन: निर्माण प्यालेष्टीनी प्रशासनले गर्ने पनि बताए।

प्यालेष्टीनी दंगाकारीहरुले इशाईहरुको पवित्र धर्म ग्रन्थ बाइबलमा समेत नाम उल्लेख भएका जोजफको चिहानमा आगो लगाइदिएका थिए।

उक्त स्थानमा यहुदीहरु पनि नियमित प्रार्थनाका लागि जाने गर्दछन्।

आह्वान

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले, हमलाहरुको बढ्दो लहरलाई रोक्नका निम्ती प्यालेष्टीनी नेतृत्वलाई आह्वान गरेको केही घण्टापछि नै त्यस्तो आगजनीको घटना हुन पुगेको थियो।

दर्जनौं प्यालेष्टीनीहरुले सो धार्मिकस्थलमा प्रवेश गरि त्यहां पेट्रोल बम हमला गरेका थिए।

तस्वीर कपीराइट EPA

प्यालेष्टीनी प्रहरीले भीडलाई पन्छाएर आगो निभाएपछि त्यहां इजरेली सुरक्षा सैन्य पुगेका थिए।

इजरेली सेनका प्रवक्ता लेफ्टीनेन्ट कर्नल पीटर लेर्नरले सो हमलाका लागि जिम्मेवारहरुलाई कानुनी घेरामा ल्याइने बताएका छन्।

प्यालेष्टीनी प्रशासनका अध्यक्ष महमुद अब्बासले त्यस्तो घटनाको निन्दा गर्दै सो पवित्र स्थलको पुन: निर्माण गरिने बताएका छन्।

अपमान

उनले सो चिहानमा गरिएको हमलालाई गैरकानूनी भन्दै त्यसबाट प्यालेष्टीनीहरुको संस्कृति, धर्म र मूल्यमान्यताहरुको अपमान भएको बताए।

तर उक्त चिहानमा आक्रमण भएको यो पहिलो पल्ट भने होइन।

तस्वीर कपीराइट Reuters

प्यालेष्टीनीहरुले गत वर्षपनि त्यहां आगो लगाउने प्रयास गरेका थिए भने, सन् २००० मा पनि त्यो स्थान लगभग ध्वस्त नै भएको थियो।

अधिनस्थ वेस्ट ब्यांकमा अन्यत्र, एकजना फोटो पत्रकारको भेषमा रहेका प्यालेष्टीनीले एकजना इजरेली सैनिकलाई छुरी प्रहार गरेर घाइते बनाएको सेनाले जनाएको छ।

यहुदी आवासीय क्षेत्र किर्यात आर्बामा भएको सो घटनामा संलग्न ती प्यालेष्टीनी हमलाकारीलाई गोली हानी मारिएको पनि सेनाले जनाएको छ।