स्लोभानियाद्वारा आप्रवासीहरुको दर्ता गर्न शुरु

  • 17 अक्टोबर 2015
तस्वीर कपीराइट Getty
Image caption युरोप जाने आप्रवासीहरुका निम्ति हंगेरी मुख्य ट्रान्जिट बनेको बताइएको छ

हङ्गेरीले युरोपेली संघले उसको वाह्य सीमा सुरक्षित गर्न नसकेकाले आफुले आफ्नो सीमा बन्द गर्नु परेको जनाए पछि आप्रवासीहरु क्रोयसिया हुँदै अर्को युरोपेली मुलुक स्लोभेनिया आइपुगेका हुन्।

हंगेरीले शुक्रबार मध्यराती देखि क्रोयसियासंगको सीमा बन्द गरीदियो। उसले अब स्लोभेनियासंगको सीमामा पनि कडाइ गरिने जनाएको छ।

युरोप जाने आप्रवासीहरुका निम्ति हंगेरी मुख्य ट्रान्जिट बनेको थियो।

क्रोएसिया र हंगेरीबीचको सीमा बन्द भएपछि स्लोभेनिया भएर युरोप जाने आप्रवासीहरुको झन् भीड लाग्ने अनुमान गरिएको छ।

क्रोएसियाकी आन्तरिक मामिलामन्त्रीले आफ्नो मुलुक भएर जाने आप्रवपासीहरु अब स्लोभेनियाको बाटो हुँदै जानुपर्ने बताइन्।

आप्रवासीहरु

यद्यपि आफ्ना छिमेकी मुलुकहरु अष्ट्रिया र जर्मनीले सीमा खुला राखुञ्जेल क्रोएसियाले आप्रवासीहरुलाई लिइरहने पनि उनले जनाइन्।

हंगेरी हुँदै धेरैजसो आप्रवासीहरु अष्ट्रिया र जर्मनी जाने गरेका थिए।

ग्रीस पुग्न चाहने आप्रवासीहरुलाई रोक्नका निम्ति सुरक्षाकर्मी पठाउन आफूद्वारा प्रस्तावित योजनामा युरोपेली नेताहरु सहमत नभएपछि हंगेरीले नाका बन्द गर्ने घोषणा गरेको हो।

हंगेरीले यसअघिनै सर्बियासँगको सीमा बन्द गरिसकेको छ।

यो वर्ष अहिलेसम्म झण्डै ६ लाख आप्रवासीहरु समुद्री मार्गहुँदै युरोपेली संघमा पुगीसकेका छन्।

ती मध्ये धेरैजसो सिरियाली शरणार्थीहरु छन्, जो टर्कीबाट जोखिमपूर्ण सामुद्रिक यात्रा गर्दै ग्र‌ीस पुगेका थिए।

भूमध्यसागर पार गर्ने क्रममा तीन हजार भन्दा बढी आप्रवासीहरुको ज्यान गैसकेको छ।

नाका बन्द

झण्डै बीस लाख मात्रै जनसंख्या भएको स्लोभेनियाले हङ्गेरीले सीमा नाका बन्द गरीदिएपछि आफ्नो मुलुकमा आप्रवासीहरुको चाप बढ्न सक्ने चिन्ता जनाएको छ।

गत महिना झण्डै तीन हजार आप्रवासीहरु स्लोभेनिया हुँदै पश्चिमी युरोप तर्फ गएका थिए।

यसैबीच युरोपेली संघले यदि टर्कीले युरोप आउन खोज्ने आप्रवासी तथा शरणार्थीहरुको संख्यालाई सीमित गर्न सघाएमा टर्कीका नागरिकहरुलाई सजीलैसंग युरोप आउन दिइने एउटा कार्ययोजना ल्याएको छ।

उसले युरोपेली संघको सदस्य बन्न टर्कीले दिएको आवेदनमाथि पनि प्राथमिकताकासाथ कुराकानी अघि बढाइने जनाएको छ।

यद्यपि टर्कीका विदेश मन्त्रीले भने, युरोपेली संघको योजना एउटा प्रस्ताव मात्रै हो र यसबारे कुनै संझौता भैसकेको छैन।