आपूर्तिकर्ताबारे केही दिनभित्रै निर्णयः निगम

  • 18 अक्टोबर 2015
तस्वीर कपीराइट ashok kumar dulal
Image caption भारतको कारण इन्धन संकट भएको भन्दै नेपालमा कतिपयले विरोध गर्दै आएका छन्

इन्धनको चरम अभाव कायमै रहिरहँदा नेपाल आयल निगमले, स्थल तथा हवाईमार्गबाट इन्धन ल्याउन इच्छुक स्वदेशी तथा विदेशी कम्पनीबारे एक-दुई दिनमै निर्णय गर्न लागेको अधिकारीहरुले बताएका छन्।

निगमले १० दिनअघि निश्चित परिमाण इन्धन आपूर्तिका लागि आशयपत्र आह्वान गरेपछि स्वदेशीसहित भारत, मलेसिया, खाडी मुलुकका गरी २२ वटा कम्पनीले इच्छा देखाएको जनाइएको छ।

आशयपत्र बुझाएका २२ वटा स्वदेशी तथा विदेशी कम्पनीबारे नेपाल आयल निगमको शक्तिशाली इकाइ, सञ्चालक समितिमा छलफल शुरु भएको अधिकारीहरुले बताएका छन्।

वाणिज्य तथा आपूर्ति सचिव नेतृत्वको उक्त समितिले कम्पनी छनौट गर्ने निगमका प्रवक्ता दिपक बरालले बताए।

छलफल

उनले भने, “हामीले छलफल गरेर आशय पत्रहरु सञ्चालक समितिमा पठाइसकेका छौँ, यसको छनोट गर्ने जिम्मा सञ्चालक समितिको हो, बोर्डमा छलफल शुरु भइसकेको छ, अब एक-दुई दिनमा टुंगो लाग्ला।”

आशयपत्र बुझाउने निजी कम्पनीहरुले आपूर्तिका लागि हवाइमार्गदेखि दुवै छिमेकीको स्थलमार्ग अपनाउनेसम्मको प्रस्ताव राखेको बताइएको छ।

भारततर्फको नाकामा अवरोध कायमै रहेको र भूकम्पका कारण क्षतिग्रस्त चीनतर्फको नाका पूर्ण रुपमा खुलिनसकेकाले इन्धन ल्याउन भने सजिलो नहुने चिन्ता व्यक्त भएका छन्।

इच्छुक कम्पनीमध्ये केहीले चीनको स्थलमार्गबाट खाना पकाउने एलपी ग्याँस ल्याउने प्रस्ताव गरेको निगमले जनाएको छ।

अवरोध

प्रवक्ता बराल त्यसका लागि प्रशासनिक अवरोध देख्छन्।

उनको भनाई छ, “केही कम्पनीहरुले चीनबाट एलपी सिलिण्डर भरेर ल्याउने प्रस्ताव राखेका छन्, तर त्यसअगाडि नेपाल सरकारले चिनियाँ सरकारसँग स्विकृति लिनुपर्ने हुन्छ, त्यो अवस्था पूरा भएमा मात्र ग्याँस ल्याउन सकिन्छ।”

तर चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले दुई दिनअघि इन्धन आपूर्तितर्फ संकेत गर्दै नेपाली पक्षबाट अनुरोध भए सहयोग गर्न सक्ने प्रतिक्रिया दिएकी थिइन्।

यद्यपि भारत रुष्ट हुनसक्ने चिन्ताले नेपाली पक्षले अहिलेसम्म बेइजिंगलाई सहयोगका लागि औपचारिक अनुरोध नगरेको भन्दै कतिपयले एमाले नेतृत्वको सरकारको आलोचना गरेका छन्।