बाल्कन्स क्षेत्रमा हजारौं आप्रवासी अलपत्र

  • 19 अक्टोबर 2015
तस्वीर कपीराइट AP

नयाँ प्रतिबन्धहरु लागू भएपछि भित्री युरोपको यात्रामा रहेका हजारौं आप्रवासीहरु स्लोभिनीया र क्रोएशियाबीचको सिमाक्षेत्रमा अलपत्र परेका छन्।

थुप्रैले चिसो र वर्षामा रात गुजार्नु परेको छ।

तिनीहरुलाई रेडक्रसको हस्तक्षेप पछि ओत लाग्ने अस्थायी व्यवस्था गरिएको छ।

मुख्यतया सिरिया, अफ्रिका र अफगानिस्तानका हजारौं आप्रवासीहरुले जर्मनी, स्वीडेन र अन्य इयु देशहरु पुग्नका लागि हालैका महिनाहरुमा टर्की हुंदै बाल्कन्स क्षेत्र तर्फको यात्रा गरिरहेका छन्।

सिमित

तस्वीर कपीराइट Reuters

तर सप्ताहान्तमा स्लोभिनीयाले आफ्नो भूभागमा प्रवेश गर्ने आप्रवासीहरुको संख्या सिमित तुल्याउने निर्णय गरेको थियो।

त्यसअघि हंगेरीले आप्रवासीहरुका निम्ति क्रोएशियासंगको आफ्नो सीमा बन्द गरिदिएको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसिआरका अनुसार क्रोएशिया प्रवेशमा रोक लगाइएका झण्डै दश हजार भन्दा बढी आप्रवासीहरु अहिले सर्वियामा अलपत्र रहेका छन्।

उक्त निकायकी प्रवक्ता मेलिटा सुन्जीचले रएटर्स समाचार एजेन्सीसंग कुरा गर्दै ति आप्रवासीहरुका निम्ति खानेकुरा, ओढ्ने कम्बल लगायतका बस्तुहरुको अभाव रहेको बताएकी छिन्।

क्रोएशिया र स्लोभिनीयाको सीमा क्षेत्रमा पांचसय भन्दा बढी मानिसहरुले खुला ठाउँमै रात विताउनु परेको थियो।

ओत

तस्वीर कपीराइट EPA

हाल तिनीहरुलाई प्रहरीले ओत लाग्ने व्यवस्था गरेको बताइएको छ।

थप १८०० देखि २००० जनाले क्रोएशिया तर्फ रोकिएको रेलमा सुतेर रात विताएका थिए।

तिनीहरुलाई अधिकारीहरुले अस्थायी रुपमा क्रोएशियामा नै रहन सक्ने वा स्लोभिनीया तर्फ अघि बढ्न सक्ने विकल्प दिएका छन्।

क्रोएशियाले आफ्नो उत्तरी छिमेकी स्लोभिनीयालाई दैनिक पांच हजारजना आप्रवासी स्वीकार गर्न भनेको छ भने स्लोभिनीयाले त्यसको आधा मात्र लिने जनाएको छ।