स्लोभेनियाद्वारा क्रोएसियाको आग्रह अस्वीकार

  • 19 अक्टोबर 2015
तस्वीर कपीराइट AP
Image caption शरणार्थी र आप्रवासीको बढ्दो भीड युरोपेली देशहरुका निम्ति चुनौति बनेको छ

स्लोभेनियाले दक्षिणी छिमेकी क्रोएसियाले आग्रह गरेकोभन्दा आधा २५ सय आप्रवासीलाई मात्र दैनिक आफ्नो सीमाभित्र प्रवेश गर्न दिने बताएको छ।

हंगेरीले सिमाना बन्द गरेपछि क्रोएसियाले स्लोभेनियालाई हरेक दिन कम्तिमा पाँच हजार आप्रवासीहरु स्वीकार गर्न आग्रह गरेको थियो।

गृहमन्त्रालयका एक उच्च अधिकारी बोस्ट्यान सेफिकले उत्तरी छिमेकी अष्ट्रियाले प्रवेश गर्न दिने घोषणा नगर्दासम्म क्रोएसियाको आग्रह मान्न नसक्ने बताए।

सेफिकले पत्रकार सम्मेलनमा 'आप्रवासीहरुले आफ्नो यात्रालाई निरन्तरता दिन नपाउने कुरा आफूहरुलाई जानकारी हुँदा हुँदै' असिमिति संख्या स्वीकार नगर्ने बताउँदै भने, “क्रोएसियाले हामीलाई प्रत्येक दिन ५ हजार आप्रवासी स्वीकार गर्न भनेको छ, तर अष्ट्रियाले उसले अधिकतम १५ सयमात्र स्वीकार्न सकिने जनाएको छ।”

अधिकांश जसो आप्रवासीहरु क्रोएसिया र स्लोभेनिया हुँदै पश्चिमी युरोप पुगिरहेका छन्।

ती मध्ये धेरै अफगानिस्तान, सिरिया र इराकका छन्।

चिसोमा विजोग

संख्यामा सीमा तोकिँदा क्रोएसियासँगको सर्वियाको सिमानामा आप्रवासी र शरणार्थीहरुको भीड बढ्दो छ।

एकजना अफगान नागरिक मुहम्मद समिनले समाचार संस्था एपीसँग कुरा गर्दै भने, “हामी चार घण्टादेखि बसमै कुरिरहेका छौं, हामीले धेरै सर्ट लगाएका छौं तर मौसम निकै चिसो छ, केटाकेटीहरु पनि चिसोमा छन्, खानेकुरा छैन।”

स्लोभेनिया तर्फको यात्राको आशा गर्दै पूर्वी क्रोएसियामा पनि ४ हजार आप्रवासीहरु पर्खिरहेको समाचारहरुमा जनाइएको छ।

टर्कीबाट हिडेका आप्रवासीहरुले सर्विया, म्यासेडोनिया र ग्रीस हुँदै बाटोमा हप्तौँ बिताइसकेका छन्।