मस्कोमा पुटिन-असद वार्ता

  • 21 अक्टोबर 2015
पुटिन तथा असद तस्वीर कपीराइट AFP
Image caption असद स्वेदश फर्किएपछि मात्रै सो भेटघाटको समाचार सार्वजनिक गरिएको थियो

सिरियाका राष्ट्रपति बसर अल असद रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग वार्ता गरी दमस्कस फर्केका छन्।

सिरियामा गृह युद्ध शुरु भए यताको आफ्नो पहिलो विदेश भ्रमणमा असदले आफ्नो स्थिति मजबुत तुल्याउने गरी सिरियामा रुसले गरेको सैनिक अतिक्रमणप्रति गहिरो आभार व्यक्त गरेका थिए।

मंगलबार बेलुकीको भेटघाटमा राष्ट्रपति पुटिनले रुस सिरियाली द्वन्द्वको राजनीतिक समाधान खोज्न योगदान दिन पनि तयार रहेको बताएका थिए।

गएको झण्डै साढे चार वर्षमा राष्ट्रपति असदको यो पहिलो विदेश भ्रमण हो।

हमला

गत महिना मात्रै रुसी युद्धक विमानहरुले इस्लामिक स्टेट तथा सिरियाका सरकारी सैन्यहरुसंग लडीरहेका विद्रोही लडाकुहरु विरुद्ध हवाइ हमला शुरु गरेको थियो।

असदले रुसी सहयोगप्रति गहिरो आभार व्यक्त गर्दै, उनकै शब्दमा, यसबाट सिरियामा आतंकवाद अरु विस्तारित र नोक्सानदायी हुनबाट रोक्न मदत पुगेको बताए।

रुसी राष्ट्रपति पुटिनले भने, “सिरिया एक मित्र मुलुक हो र हामी आतंकवाद विरुद्धको लडाईंमा मात्रै हैन, यो समस्याको शान्तिपूर्ण समाधान चाहने त्यस क्षेत्रका र अन्य राजनीतिक शक्तिहरुसंग मिलेर एउटा राजनीतिक प्रकृयालाई सघाउन पनि तयार छौं।”

राष्ट्रपति पुटिनले भूतपूर्व सोभियत संघका झण्डै चारहजार मानिसहरु अहिले सिरियाली युद्धमा सामेल भएको बताए।

उनले भने, हामी उनीहरुलाई फर्केर रुस आउन दिन सक्दैनौं।

समाचार

मस्कोमा मंगलबार बेलुका दुई नेताहरु बीच भेटवार्ता भएको थियो, तर असद स्वेदश फर्किएपछि बुधबार मात्रै उक्त भेटघाटको समाचार सार्वजनिक गरिएको थियो।

हाम्रा कूटनीतिक संवाददाता जोनाथन मार्कस भन्छन्, राष्ट्रपति असदको आकस्मिक मस्को भ्रमणले उनको बढ्दो आत्मविश्वासलाई दर्शाउँदछ। उनी भन्छन्, यसले कुनै पनि अन्तरिम समाधानमा असद पनि एक अंग हुनुपर्छ भन्ने रुसी अडानलाई पनि प्रष्ट गर्छ।

चार वर्ष अघि असद विरोधी प्रदर्शनहरुलाई सिरिया सरकारले चर्को दमन गरेपछि द्वन्द्व गृहयुद्धमा परिणत भएको थियो।

अहिले सिरियाका विभिन्न भूभाग असद सरकार, विद्रोही लडाकु समूहहरु तथा इस्लामिक स्टेट संगठनको नियन्त्रणमा छन्।

जारी गृह युद्धका क्रममा अढाइलाख भन्दा बढी सिरियालीहरुको ज्यान गैसकेको छ भने झण्डै दशलाख घाइते भएका छन्।