बाँके बस दुर्घटना: ‘केही यात्रुको अवस्था अज्ञात’

  • 21 अक्टोबर 2015
दुर्घटनास्थल तस्वीर कपीराइट Arjun Oli
Image caption दुर्घटना हुनुअघि बसमा करिब ३३ जना यात्रु रहेको स्थानीय अधिकारीहरुले बताएका छन्

पश्चिम नेपालको बाँकेको खासकुस्मामा मंगलबार साँझ भएको बस दुर्घटनापछि अझै कयौं यात्रु हराइरहेको त्यहाँका एक अधिकारीले बताएका छन्।

खासकुस्मा गाविसको चप्परगौडी नजिकै दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए।

ग्यास र पेट्रोल समेत बोकेको बसमा दुर्घटनापछि भीषण आगलागी भएको र कयौं यात्रु जलेको बसभित्रै रहेको हुनसक्ने एमसीले बताए।

“अधिकांश मृतकको शव जलेको छ, एउटा मात्र शव सग्लो भेटियो,” उनले भने। “बसको ढोका भूइँपट्टि परेर पल्टिएको अवस्थामा छ, धेरै भाग जलेको छ।”

'अज्ञात'

“प्लेन दुर्घटना भएको जस्तै दृश्य छ, स्थानीयवासीका अनुसार राति नौ बजेसम्म पनि रुखको टुप्पा टुप्पामा आगो लागिरहेको थियो।”

उनका अनुसार बसमा सवार करिब ३३ यात्रुमध्ये करिब करिब १० जनाको अवस्था थाह हुन सकेको छैन्।

आठ यात्रुको ज्यान गएको पुष्टि भइसकेको छ भने १५ घाइते नजिकैको अस्पतालमा उपचाररत छन्।

छतमा समेत यात्रु बोकेको सो बस बुटवलबाट नेपालगञ्तजर्फ गइरहेको थियो।

आशंका

उक्त बस दुर्घटनामा परे लगतै विष्फोटको आवाजसँगै आगो लागेर नष्ट भएकाले ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

दुर्घटनापछि बसबाट निस्किएर ज्यान जोगाउन सफल भएका यात्रुको बाँके र दाङका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।

बसमा ग्याँस तथा पेट्रोलियम पदार्थ रहेकाले दुर्घटना लगत्तै भीषण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।