राष्ट्रपतीय चुनावमा भाग नलिने बाइडनको घोषणा

  • 22 अक्टोबर 2015
जो बाइडेन तस्वीर कपीराइट EPA
Image caption जो बाइडेनले राष्ट्रपति पदको लागि हुने चुनावमा भाग नलिएपनि आफू चुप लागेर नबस्ने बताएका छन्

अमेरिकी उपराष्ट्रपति जो बाइडेनले सन् २०१६ मा राष्ट्रपति पदका लागि हुने चुनावी प्रतिस्पर्धाबाट आफू बाहिरिने घोषणा गरेपछि डेमोक्रेटिक पार्टीको संभावित उम्मेदवार हिलरी क्लिन्टनको चुनावी अभियानलाई ठूलो बल पुगेको छ।

क्यान्सर रोगबाट आफ्नो छोराको मृत्यु भएपछि आफू र परिवारले शोकबाट पार पाउने प्रयास गरिरहेको बाइडनले बताएका छन्।

उनले आफू उम्मेदवार नबनेपनि “चुप लागेर नबस्ने” बताएका छन्।

डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी पाउनका निम्ति सफल चुनावी अभियान गर्न समय नभएको उनले बताए।

सशक्त

बाइडनले भने, “म उम्मेदवार हुन्न भन्दैमा मौन चाहिँ बस्दिन, हामी एउटा पार्टीको रुपमा कहाँ हुनुपर्छ र एउटा देशको रुपमा कहाँ जानुपर्छ भन्ने विषयमा म स्पष्ट र सशक्त रुपमा बोल्ने इच्छा राख्छु।”

बाइडेनले डेमोक्रेटिक पार्टीको तर्फबाट सफल चुनावी अभियान अघि बढाउन सकिनेमा आफू विश्वस्त नभएको बताए।

उनले राष्ट्रपति ओबामाको विरासतलाई अस्वीकार गर्नु ठूलो भूल हुने बताए।

चुनावी अभियानको अग्रपङ्क्तिमा रहेकी क्लिन्टनको विकल्प खोजीरहेका डेमोक्र्याटहरुले ७२ वर्षिया बाइडेनलाई चुनावी मैदानमा जान अनुरोध गरिरहेका थिए।

अभियान

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर भन्छन्, “अन्त्यमा तितो राजनीतिक सत्यकै जीत भएको छ; यदि बाइडेनले चुनावमा उठ्ने निर्णय गरेको भएपनि त्यो कठिन काम हुने थियो।”

जर्चर लेख्छन्, “पछिल्ला केही महिनामा केहिीचिप्लिएको देखिएपनि क्लिन्टन एक बलियो उम्मेदवार हुन्।”

उनले आफ्नो अभियानको लागि दशौं लाख डलर चन्दा उठाइसकेकी छिन्।

उनलाई डेमोक्रेटिक पार्टीभित्र संस्थागत सहयोग प्राप्त छ र उनी सन् २००८मा बाराक ओबामाद्वारा पछि धकेलिएयता नयाँ चुनावी अभियानको तयारीमा लागिरहेकी छिन्।