नेपाल-भारत: सिक्काको अर्को पाटो

  • 22 अक्टोबर 2015
तस्वीर कपीराइट Reuters
Image caption नेपाल भारत सिमा नाकामा दुई महिना भन्दा लामो समयदेखि अवरोध भइरहेको छ

हालै नेपाल सिमा भारत क्षेत्रमा देखिएको अवरोधपछि नेपाल ल्याउन ठिक पारिएका सामान बोकेका सयौँ मालवाहक सवारी साधन भारत तिरै रोकिएका छन्।

पछिल्लो घटनाले नेपालको अर्थतन्त्र, बजार र व्यापार भारतमा पूर्ण रुपमा निर्भर रहेको छर्लङ्गै पारेको छ।

तर नेपाल भारतसँग मात्रै होइन, भारत पनि नेपालबाट रेमिट्यान्स भित्र्याउनदेखि कतिपय सामानहरुमा उत्तिकै निर्भर रहेको छ।

निर्भर

हाल वर्षेनी झन्डै ६ खर्ब रुपैयाँ विदेशमा काम गरिरहेका नेपाली कामदारबाट भित्र्याउने नेपाल आफ्नो दक्षिणी छिमेकी भारतलाई पनि उल्लेख्य रेमिट्यान्स पठाउने श्रोत देशहरुमध्ये पर्छ।

विश्व बैंकको तथ्याकंलाई उदृत गर्दै एउटा अमेरिकी संस्था पिउ रिसर्च सेन्टरले अघिल्लो वर्ष गरेको एउटा अध्ययन अनुसार भारतलाई सबैभन्दा बढी रेमिट्यान्स पठाउने सातौँ देशमा नेपाल पर्छ।

उसका अनुसार सन् २०१२ मा मात्रै नेपालबाट सवा ३ खर्ब भन्दा बढी नेपाली रुपैयाँ कामदारहरुले पठाउने रकम अर्थात विप्रेषणका रुपमा भारत पुगेको थियो।

नेपालमा रहेका भारतीय श्रमिकहरुको संख्या यकिन नरहेको र अधिकांश कारोबार गैर बैंकिंग प्रणाली मार्फत गरिने हुँदा त्यसबारेको यकिन तथ्याकं उपलब्ध नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी बताउँछन्।

उनले भने, “भारतबाट आउने नागरिकहरुले यहाँ काम गरेपछि अनौपचारिक प्रणाली वा आफू व्यक्तिगत रुपमा जाँदा खेरी नै कमाएको रकम लिएर जाने प्रचलन छ, र ठूला कम्पनीमा काम गर्ने जुन कर्मचारीहरु हुनुहुन्छ उहाँहरुले मात्रै बैंकिग प्रणाली प्रयोग गरेको पाइन्छ, त्यो प्रयोग गरे पनि त्यति ठूलो रुपमा यहाँबाट गएको देखिदैँन, तथ्यांक पनि हामीले यहाँबाट कति भारत गयो भनेर राख्ने गरेको देखिदैँन।”

अधिकारीहरुका अनुसार नेपालको कुल व्यापारमा हुने आयात र निर्यात मध्ये दुई तिहाई भारतसँगै हुने गरेको देखिन्छ।

निर्यात

अघिल्लो वर्ष ५५ अर्ब रुपियाँ भन्दा बढीका सामाग्री भारततिर पठाएको नेपालले त्यसको झन्डै दश गुणा बढी परिमाणको रकम भारतबाट सामान किन्न खर्चेको आकंडाहरुले देखाउँछ।

अघिल्लो वर्ष भारतबाट दुई खर्ब रुपियाँ भन्दा बढीको इन्धन किनेको नेपालले अर्बौँ रुपियाँ खर्चेर भारतबाट चामल, मकै र आलु जस्ता कृषि उत्पादन किन्ने गरेको पाइन्छ।

नेपालबाट चाँही भारत तिर के के पैठारी हुन्छ? जवाफमा वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धनका निर्देशक सुयेश खनालले बीबीसीसँग भने, "नेपालबाट भारतमा खासगरेर फलाम तथा स्टिलका सामानहरु, धागो तथा फ्याब्रिक्सहरु, जुस अनि कृषिजन्य बस्तुहरुमा अलैँची, चिया तथा जडिबुट्टीहरु र अदुवाहरु पनि निकासी हुने गरेको छ।”

अर्थविदहरुका अनुसार विश्व बजारमा व्यापक रुपमा आफ्नो प्रभाव विस्तार गर्ने रणनिति लिनु अघि भारतले नेपाल सहितका देशलाई आफ्नो मुख्य बजारका रुपमा लिने गरेको थियो।

सम्झौता

दुई दशक भन्दा बढी देखि भारतसँग स्थिर विनिमय दर राख्दै आएको नेपालले हालैका वर्षमा अमेरिकी डलरको भाउ आकाशिए पछि तेश्रो देशभन्दा बढी कारोबार भारतीय बजारसँग नै गर्ने गरेको अर्थविद तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य पोषराज पाण्डे बताउँछन्।

त्यसबाहेक भारतीय बहुराष्ट्रिय कम्पनीहरुको पनि नेपालमा उल्लेख्य प्रभाव रहेको भन्दै उनले भने, "डाबरको उता पनि छ, यता पनि छ, यहाँ नेपालमा नै कारखाना बनाएर उत्तरी भारतका लागि उसले उत्पादन गरिरहेको छ, हिन्दुस्तान लिभर थियो अहिले नेपाल लिभर भन्छ त्यसले उत्पादन गर्ने अर्बौ रुपियाँ बराबरका दन्तमन्जन देखि अन्य सामाग्री भारततिरै गइरहेका हुन्छन्।”

नेपालमा हाल भइरहेको बाह्य लगानी मध्ये सबैभन्दा बढी भारतकै छ।

उद्योग विभागका अनुसार गएको आर्थिक वर्षमा भारतबाट भित्रिएको ३४ अर्ब भन्दा बढीको भारतिय लगानी मध्ये झन्डै ३३ अर्ब रुपियाँ भन्दा बढी उर्जासँग सम्बन्धित दुइवटा परियोजनामा लक्षित छन्।

अघिल्लो वर्षमात्रै एउटा भारतीय कम्पनीलाई झन्डै ११६ अर्ब लागत रहेको ९ सय मेगावट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न दिने सम्झौता दुई पक्षबीच भएको थियो।