‘इन्धन अभावले सडकसम्बन्धी काम ठप्प’

  • 22 अक्टोबर 2015
तस्वीर कपीराइट SEDAT SUNA EPA
Image caption उपत्यकामै भूकम्पका कारण क्षतिग्रस्त कतिपय सडकहरु पुनर्निर्माण गर्नुपर्ने भएको अधिकारीहरु बताउँछन्

भारतसँगका सीमा नाकाहरुमा देखिएको अवरोधका कारण इन्धनको सहज आपूर्ति हुन नसक्दा देशभर खासगरी सडक मर्मत र बाटो खोल्ने काम ठप्प भएको अधिकारीहरुले बताएका छन्।

यसका कारण वर्षभरिमा सक्नुपर्ने कामको लक्ष्य पूरा गर्न कठिन हुनका साथै त्यसको लागत रकम पनि बढ्ने सडक विभागले जनाएको छ।

विभागका अधिकारीहरु भन्छन् समयमै मर्मत सम्भार गर्न नसकिँदा अलिअलि बिग्रेका सडक झन् बिग्रिन सक्छन्।

तराईमा जारी आन्दोलन र त्यसपछि भारतसँगका सीमा नाकाहरुमा उत्पन्न अवरोध विकासको महत्वपूर्ण सूचक मानिने सडक सुधारमा पनि बाधक बन्ने पुगेको छ।

प्रभावित

सडक विभागका अनुसार इन्धन अभावले प्रभावित विकाश परियोजनाको एउटा ज्वलन्त उदाहरण हो नेपाललाई चीनसँग जोड्ने रसुवा नाका।

विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर लक्ष्मीदत्त भट्ट भन्छन्, इन्धन अभावकै कारण भूकम्पपछि अवरुद्ध बन्न पुगेको उक्त नाका खुलाउन ढिलो हुन पुग्यो।

इन्धन अभावका कारण सडकसम्बन्धी प्रभावित कामका फेहरिस्त सुनाउँदै भट्टले भने, “हाम्रो हरेक कुरामा इन्धन चाहिने हुन्छ, जस्तो भनौँ न ठूला उपकरणहरुलाई इन्धन चाहिन्छ, लोडरमा इन्धन चाहिन्छ, इन्धन नभई त कुनै कामै हुँदैन, हाम्रो राजमार्गहरु जुन मर्मत हुन्छन् नि त्यो मर्मत गर्ने प्याच टाल्ने सबैकाम बन्द भएका छन्, त्यस्तै ठाउँ ठाउँमा राजमार्ग सहायक राजमार्गहरु जुन कालोपत्रे गर्नुथियो त्यो सबै काम बन्द भएको छ, भएकै छैन्।”

विभागको योजना तथा डिजाइन महाशाखाका उपमहानिर्देशक तथा प्रवक्ता उमेश झाका अनुसार जिल्ला सदरमुकामसँग जोड्न बाँकी रहेका सडकहरु, विभिन्न व्यापारिक मार्गहरु र भारतीय सीमासँग महेन्द्र राजमार्गलाई जोड्ने सडकहरु यस वर्ष पूरा गर्ने योजना छ।

लागत

काठमाण्डू उपत्यकामै ४० किलोमिटर सडक विस्तार गर्ने लक्ष्य छ।

तर भूकम्पले गत आर्थिक वर्षको अन्त्यमा झट्का दिएको सडक निर्माणको लक्ष्यलाई यसपालि इन्धन अभावले प्रभावित पार्ने र लागत पनि बढाउने अधिकारीहरुको ठम्याई छ।

वरिष्ठ डिभिजनल इञ्जिनियर भट्टले थपे, “पछि सुचारु भएर आयो भने सुधारिएको कार्यतालिका मागेर बढाउन सकिएला केही र पनि जुन लक्ष्य हामीले राखेका छौँ त्यो हासिल गर्न गाह्रो होला, फेरि मर्मत चाहिँ बरु एकदिन छिट्टो गर तर एकदिन पनि ढिलो नगर भन्छन्, ठिक त्यसको एउटा चक्र हुन्छ, त्यो चक्रमा गर्न पाएन भने झन बिग्रिने र त्यो मर्मत गर्नुपर्ने लागत चाहिँ बढ्छ, अंकगणितीय हिसाबले होइन ज्यामितीय हिसाबले बढ्छ।”

अधिकारीहरुका अनुसार गत आर्थिक वर्षको यो अवधिसम्ममा करिब १२ प्रतिशत बजेट खर्च भएकोमा यो वर्ष सोही अवधिभित्र चार प्रतिशतभन्दा केही बढी रकम मात्र खर्च भएको छ।

उनीहरु भन्छन् निर्धारित समयसीमाभित्र सडक मर्मत नगरिँदा लागत त बढ्छ नै, त्यसबाहेक ब्रिगेका सडकहरु झन् बिग्रिने डर हुन्छ।