इन्धन अभावको मारमा पर्यटन

  • 23 अक्टोबर 2015
चिनियाँ पर्यटक
Image caption भूकम्पका धक्का र इन्धन संकटपछि नेपालमा चिनियाँ पर्यटकको आगमन समेत घटेको व्यवसायीहरुले बताएका छन्

वैशाखको विनाशकारी भूकम्पपछि नराम्रो झट्का सहेको नेपालको पर्यटन उद्योग जारी तराई आन्दोलनका माझ उत्पन्न इन्धन संकटका कारण झनै थला परेको पर्यटन व्यवसायीहरुले बताएका छ्न्।

सन् २०१४ मा नेपालमा करीब आठ लाख विदेशी पर्यटक आएका थिए, तर २०१५ लागेपछि पर्यटक आगमनमा एकपछि अर्को समस्या आइपरेको व्यवसायीहरु बताउँछन्।

इन्धन संकटको विकल्प तत्कालै नखोजिए नेपाली पर्यटन उद्योगमा अझै ठूलो घाटा पर्न सक्ने चिन्ता व्यवसायीहरुको छ।

नेपालमा पर्यटनको मुख्य याम मानिने अक्टोबर महिनाको तेस्रो सातामा राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलका सडकका विदेशी पर्यटकको भीड लाग्ने गर्दथ्यो।

सुनसान

तर यसपालि स्थिति त्यस्तो छैन; ठमेलका सडकमा औंलामा गन्न सकिने पर्यटकमात्र देखिन्छन्।

ट्याक्सी चालक प्रेम लामा मध्यान्हको समयमा यात्रु कुरेर बसिरहेका थिए।

“व्यापार, काम केही पनि छैन, पर्यटकहरुपनि त्यति छैनन्, पेट्रोल पनि छैन। ब्ल्याक(कालोबजार)मा एक लिटर पेट्रोलको ८०० रुपैयाँ पर्छ।”

रिक्साचालक गोपाल कार्कीपनि दिउँसो आफ्नै रिक्सामा निदाउने प्रयासमा थिए।

पर्यटकहरुलाई पदयात्राका सर-सामान बेच्ने एक व्यापारी हिरा अर्यालले पसलको भाडा तिर्न पनि नसकिने स्थिति आएको दु:खेसो पोखिन्।

“मन्त्री फेरिएपछि तेल आउँछ भन्थे, तर आएन। घरमा ग्याँस छैन, यहाँ बाटो खाली छ, हाम्रो त उठिबास हुने भयो।”

सामान्य अवस्थामा अक्टोबर महिनामा काठमाण्डू, पोखरा, चितवन जस्ता पर्यटकीय नगरका होटेलहरु पाहुनाले भरिभराउ हुने गर्दथे।

‘कहालीलाग्दो’

तर यसपालि भूकम्पको धक्कापछि क्रमश: तङ्ग्रिने क्रममा रहेको पर्यटन क्षेत्रले अहिलेको पर्यटन याममा इन्धन संकटका कारण नराम्रो मार खेप्न वाध्य छ।

होटल एसोसिएसन अफ नेपालका अध्यक्ष एवं काठमाण्डूको एक पाँचतारे होटल -याडिसनका प्रवन्ध निर्देशक विकेश श्रेष्ठले नेपालको पछिल्लो संकटका कारण विदेशी आगन्तुकहरुले धमाधम भ्रमण रद्द गरिरहेको जनाए।

उनले भने, “हिजोआज हाम्रा होटेलहरुमा औसतमा करीब ३० प्रतिशत मात्रै कोठा बुकिङ भइरहेको छ।”

नेपाल आएका थुप्रै पर्यटकहरु काठमाण्डू, पोखरा र चितवनका अतिरिक्त हिमाली पदयात्रामा जाने गर्दछन्।

तर यसपाली इन्धन अभावका कारण यातायात क्षेत्र प्रभावित भएकोले पर्यटक आगमन नगण्य रहेको पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्ट एसोसियसन अफ नेपालका निवर्तमान अध्यक्ष रमेश धमलाले बताए।

“अहिले स्थिति कहालीलाग्दो छ, पोहोर सालको यही ऋतुको तुलनामा १५ प्रतिशत पर्यटक मुस्किलले आगमन गराइरहेका छौं।”

तस्वीर कपीराइट AFP
Image caption इन्धन संकटका बेला सरकारले पर्यटन उद्योगलाई पर्याप्त सहयोग नगरेको गुनासो व्यवसायीहरुको छ

पोहोर साल अन्नपूर्ण क्षेत्रमा ४३ पदयात्रुको ज्यान लिएको हिमपात तथा आँधीपछि नेपालको पर्यटन उद्योगले यो वर्ष भूकम्पको बज्रपात सह्यो।

इन्धन संकटका कारण अहिले प्रमुख पदयात्रा गन्तव्यहरु सगरमाथा, लाङटाङ र अन्नपूर्ण क्षेत्रमा निकै कम विदेशी पर्यटकहरु गएको उनको भनाइ छ।

‘पत्राचार’

इन्धन आपूर्तिको बेला पर्यटन व्यवसायीलाई आवश्यक सहयोग गर्न नेपाल सरकारको पर्यटन विभागले के गरिरहेको छ त?

महानिर्देशक गोविन्दबहादुर कार्कीले उनीहरुलाई सक्दो सहयोग गर्न प्रधानमन्त्री कार्यालयमा समेत पत्राचार गरिसकेको जनाए।

पर्यटन उद्योगले नेपालको अर्थतन्त्रमा टेवा पु-याइरहेको र प्रत्यक्ष, अप्रत्यक्ष रुपमा लाखौं नेपालीलाई रोजगारी दिइरहेको अधिकारीहरु बताउँछन्।

तर अहिलेको इन्धन संकटको असर काठमाण्डू उड्ने विदेशी वायु सेवाहरुमा समेत परेकाले बढ्दो क्रममा रहेको चिनियाँ पर्यटकको आगमन समेत ओरालो लागेको व्यवसायीहरु बताउँछन्।