गौतम बुद्ध विमानस्थल स्तरोन्नति कार्य ‘ठप्प’

  • 24 अक्टोबर 2015
Image caption जारी अवरोधका कारण नेपाल-भारत सीमानाकाहरुमा सामान बोकेका सवारी साधनहरु रोकिएका छन्

तराई केन्द्रित दलहरुको लगातारको बन्दका कारण भैरहवामा बिस्तार गर्न शुरु गरिएको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले ठप्पप्राय भएको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार पहिले वर्षा र त्यसपछि आन्दोलनका कारण निर्माण सामाग्रीहरु उपलब्ध हुन नसक्दा गत चार महिनायता विमानस्थलमा कुनै पनि काम हुन सकेको छैन्।

नेपालको नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी नर्थ-वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनबीच एक हजार ९५ दिन अर्थात करिब तीन वर्षभित्रै काम सम्पन्न गर्ने सम्झौता अनुसार गएको माघ १ गतेदेखि गौतम बुद्ध विमानस्थलको स्तरोन्नति गर्ने काम शुरु गरिएको थियो।

यस क्रमका विमानस्थलको पश्चिममा रहेको घाघरा नदी ड्राईभर्सनको काम सकिनै लाग्दा वर्षा शुरु भएका कारण काम स्थगित गरीएकोमा त्यस लगत्तै काम थाल्न लाग्दा तराईको आन्दोलनले निर्माण कार्य प्रभावित भएको आयोजना प्रमुख ओम शर्माले बताए।

आशंका

उनले भने, “बन्दका कारण एक त आवतजावत गर्न पाइएन, दोस्रो कुरा इन्धन नहुँदा आवश्यक सामाग्रीहरु पनि ल्याउन पाइएन।”

ठेकेदार पक्षसँगको सम्झौतामा समयमा काम सम्पन्न नभएमा ठेकेदार पक्षले जरिवाना तिर्ने तथा सकेसम्म म्याद नथप्ने प्रावधान छ।

तर बन्दका कारण लामो अवरोधले यस्ता प्रावधानहरुलाई पनि प्रभावित पार्न सक्ने हुदा सम्झौता अनुसारको समयभित्र काम सम्पन्न हुनेमा स्वयं निमार्ण पक्षलेनै आशंका गर्न थालेको बताइएको छ।

यद्यपि नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा आयोजना प्रमुख ओम शर्माले काम केही ढिला भएको भएपनि अब अवरोध नभएमा निर्धारित समयमा नै काम सम्पन्न गर्न सकिने बताउँछन।

अनुमान

उनी भन्छन्, “अहिले काममा जुन ढिलाई भएको छ, त्यसलाई सकेसम्म मिलाउन सकिन्छ।”

विमानस्थल निर्माणका लागि करिब ९ करोड अमेरीकी डलर लाग्ने अनुमान गरिएको छ।

योजना अनुसार पहिलो चरणमा तीन हजार मिटरको रनवेका अतिरिक्त अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, सुरक्षा पोस्ट, नदी डाइभर्सन लगायतका भौतिक पूर्वाधार निर्माणका लागि चिनियाँ कम्पनीले ठेक्का पाएको छ।