मेक्सिकोको प्रशान्त क्षेत्रमा प्याट्रिसिया आँधी

  • 24 अक्टोबर 2015
प्याट्रिसिया आँधी अघि तस्वीर कपीराइट AP
Image caption आँधी शक्तिशाली हुने भनिएपछि तटीय क्षेत्रबाट मानिसहरुलाई अन्यत्र सारिएको थियो

निकै शक्तिशाली हुने अनुमान गरिएको प्याट्रिसिया आँधीले मेक्सिकोमा ठूलो क्षति पुर्याउन सक्ने चिन्ता मेक्सिकोका अधिकारीहरुले व्यक्त गरेका छन्।

अधिकारीहरुका अनुसार उक्त आँधी जालिस्को राज्यको प्लाया पेरुलाबाट प्रवेश गरेको थियो।

प्रतिघण्टा तीनसय किलोमिटरभन्दा बढी गतिमा रहेको उक्त समुन्द्री आँधीले संभवतः ठूलो विनाश निम्त्याउने अधिकारीहरुले चेतावनी दिएका छन्।

मेक्सिकोका राष्ट्रपति एन्रीके पेन्युह नियेतोहले अहिलेसम्म नदेखिएको समुन्द्री आँधीबाट मुलुक गुज्रिरहेको बताएका छन्।

आपतकालीन

उनले सरकारको उद्देश्य मानिसहरुको ज्यान जोगाउने भएको बताए।

केही तटीय क्षेत्रका मानिसहरुलाई ती स्थान खाली गर्न भनिसकिएको छ भने आँधीको प्रभावबाट जोगाउन घरहरु र उद्योगहरु काठले छेकिएका छन्।

विद्यालयहरु र विमानस्थलहरु बन्द गरिएका छन्।

वर्ल्ड मिटियोरोलोजिकल अर्गनाइजेशन अर्थात् विश्व हावापानी संगठनले भनेको छ, प्याट्रिसिया आँधी दुई वर्षअघि सात हजारभन्दा बढी मानिसहरुको ज्यान लिनेगरी फिलिपिन्समा आएको टाइफुन हैयानसँग तुलना गर्ने प्रकृतिको छ।

प्याट्रिसियाको मार्गमा पर्ने तीनवटा राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको अधिकारीहरुले बताएका छन्।

मान्सानियो शहरमा खिचिएको भिडियोमा रुखहरु बाङ्गिने गरी आँधी चलिरहेको देखिन्छ।

अमेरिकी नेशनल हरिकेन सेन्टरले भनेको छ, प्याट्रिसिया, पूर्वी प्रशान्त क्षेत्र वा एटलान्टिकमा आएको सबैभन्दा शक्तिशाली आँधी हो।

शक्तिशाली

मेक्सिकोको राष्ट्रिय विपद् कोषका अनुसार प्रभावित क्षेत्रमा करिब चार लाख मानिसहरु बस्दछन्।

जालिस्को राज्यका प्रसाशक एरिस्टोटेलेस् सान्दोवलले मानिसहरुलाई शक्तिशाली आँधीबारे सचेत गराउन आफूहरुलाई निकै कठिन भएको बताए।

“घण्टौंदेखि हामीले मानिसहरुलाई आँधीले पुर्याउन सक्ने क्षतिबारे सावधान गराइरहेका छौं, तर मानिसहरुले हामीलाई विश्वासै गरेनन्, विस्तारै मानिसहरुले बुझ्न थालेका छन्।”

यसैबीच हावापानी परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिइरहेका मेक्सिकोका प्रतिनिधिले प्याट्रिसिया आँधीलाई विश्वका सबै देशहरुलाई हावापानी परिवर्तनसँग जुझ्न लागि मिलेर साझा सहमति गर्न संकेत भएको भनी व्याख्या गरेका छन्।

जर्मनीको बोन शहरमा जारी बैठकका सहभागीहरुलाई उनले विमतिहरुलाई पन्छाउँदै अहिलेका प्रस्तावहरुमाथि सहमति जुटाउन आग्रह गरेका थिए।

उनको टिप्पणीलाई सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए।