भूकम्पको छ महिना: पीडितलाई बासको पीर

  • 25 अक्टोबर 2015
Image caption पालमुनि खासगरी सुत्केरी महिलाहरुको जीवन अझ बढी कष्टकर भएको बताइएको छ

विनाशकारी भूकम्प गएको ६ महिना बितिसक्दा पनि अझै सयौं मानिसहरु खुला चौरमा पालभित्र बास बस्न बाध्य छन्।

वर्षायाम जसोतसो कटाएका उनीहरुलाई अब कठ्याङ्ग्रिने जाडोयाममा के गर्ने भन्ने चिन्ता परेको छ।

राजधानीका विभिन्न ठाउँमा पालमा बसेका ती पीडितहरुलाई भूकम्प लगत्तै घर फर्कन सरकारले भनेको थियो।

सरकारी अधिकारीहरु आफूहरुले केही गर्न नसक्ने बताउँछन्।

सुविधा

भूकम्प लगतै पीडितहरुका लागि सरकारले व्यवस्था गरिसकेकाले अन्य कुनै पनि सुविधा दिन नसक्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए।

उनले भने, “उहाँहरु सम्बन्धित जिल्ला जानुपर्यो, सरकारले १५ हजार रुपैयाँ दिएको छ, त्यहाँ घर बनाउनुपर्यो, सरकारले जति दिएको छ त्यसबाट घर बनाउनुपर्यो, पहिले चाहिँ विस्थापितहरुलाइ आफ्नै जिल्लामा फर्काउने हाम्रो योजना हो।”

तर यति महिनासम्म पनि उनीहरुको गाउँघरमा वैकल्पिक बसोबासको व्यवस्था हुन नसकेकाले उनीहरु विचल्लीमा परेका छन्।

वैशाख १२ र २९ गतेको भूकम्पपछि राजधानी काठमाण्डौका खुला स्थानमा मात्रै पाँच सयभन्दा धेरै परिवारहरु बस्दै आएका छन्।

तस्वीर कपीराइट EPA
Image caption प्राधिकरण नबन्दा पुनर्निर्माणका काम पनि अघि बढ्न सकेको छैन्

वर्षायाममा दुःख पाएका उनीहरु अब जाडोमा कसरी गुजारा गर्ने भन्ने चिन्तामा छन्।

धादिङकी ६५ वर्षीया पेमाया तामाङ भन्छिन्, “अब के गर्ने गाह्रो छ, चिसो छ, चिसोले रुघाखोकी लागेर कस्तो अचम्म भयो मलाई त, चिसो आउँदैछ, कसरी बस्ने कसरी?”

समस्या

खुला आकास त्यसमाथि सुत्केरी महिला र बालबालिकालाइ झनै समस्यामा पारेको उनीहरुले बताए।

पालको बासले १७ महिनाको छोरा र आफू पटक-पटक बिरामी हुने गरेको बताउने देवी कार्की भन्छिन्, “के गर्नु बाहिर बस्नु परिरहेको छ, घरमा बसेजस्तो छैन्, जाडो हुन्छ, धेरै आफ्नोभन्दा बच्चाको लागि धेरै ख्याल गरिराख्नुपरेको छ।”

यहाँ बस्नु आफूहरुका लागि बाध्यता भएको सिन्धुपाल्चोकका तेन्जिङले बताए।

उनले भने, “बाध्यता हो यो, बस्नै परिहाल्यो, कहिले पानी आएर भूइँ भिज्छ अनि घाम लाग्छ फेरि लुगा सुकाउँछ।”

भूकम्पका कारण विस्थापित भएकाहरु सरकारले आफूहरुका लागि केही व्यवस्था गरिदिन्छ कि भन्ने आशमा छन्।

राजधानीका खुला स्थानमा रहेका पालभित्र कतिपय भूकम्प प्रभावित जिल्लाबाट आएका मानिसहरु छन् भने कतिपय कोठा भाडामा नपाएर आएकाहरु छन्।