शक्तिशाली भूकम्पमा १०० भन्दा बढीको मृत्यू

  • 26 अक्टोबर 2015
Image caption अधिकारीहरुका अनुसार भूकम्पको गहिराई २१२ किलोमिटर थियो

उत्तर पुर्वी अफगानिस्तानमा आएको शक्तिशाली भूकम्प पाकिस्तान र भारतमा समेत अनुभव गरिएको थियो, जहाँ मानिसहरु आत्तिएर बाटोमा निस्केका थिए।

प्रारम्भिक रिपोर्टहरुका अनुसार अहिलेसम्म १ सयजना भन्दा बढी मानिसहरुको ज्यान गईसकेको छ।

अधिकारीहरुका अनुसार भवनहरु भत्किँदा पाकिस्तानमा ५० जना भन्दा बढी मानिसहरुको ज्यान गएको छ।

यु एस जियोलोजिकल सर्भेका अनुसार ७.५ रेक्टर स्केलको भनिएको सो भूकम्पलाई पाकिस्तानी अधिकारीले ८.८ रेक्टर स्केलको बताउँदैछन्।

क्षति

अफगानिस्तान, पाकिस्तान र भारतका राजधानीहरुमा भवनहरु हल्लिएका थिए।

रिपोर्टहरुका अनुसार रावलपिण्डि र पेशावरमा केहि भवन पूर्णतया भत्किएका थिए।

सयौं मानिसहरु आत्तिएर सडकमा निस्किए।

काबुलका ज्येष्ठ नागरिकहरुले यस्तो शक्तिशाली झट्का कहिले अनुभव नगरेको बताए।

अफगानिस्तानमा अस्पतालहरु तयारी अवस्थामा राखिएका छन भने पाकिस्तानमा सेनाका प्रमुखले सेनालाई आदेशको प्रतिक्षा बिना नै भूकम्प प्रभावित व्यक्तिहरुलाई मद्दत गर्ने निर्देशन दिएका छन।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको उत्तर पुर्वमा रहेको हिन्दु कुश पर्वतमा फैजाबाद भन्दा ७५ किलोमिटर दक्षिणमा थियो।

तिनै देशका राजधानीका भवनहरु खाली गरिएका थिए र धेरै क्षेत्रमा संचार अवरुद्ध भएको थियो।

अफगानिस्तानको तखार प्रान्तमा भूकम्पपछि एउटा छात्राहरुको विद्यालयमा भएको भागदौडमा १२ विद्दार्थी मारिएको र २५ विद्दार्थी घाईते भएको भनिएको छ।

अस्पतालका सुत्रका अनुसार अफगानिस्तानको पुर्वी शहर जलालाकबादमा ५ व्यक्तिको मृत्यु भएको छ। पाकिस्तानमा प्रायः भूकम्प प्रभावित व्यक्ति उत्तरका आदिवासी क्षेत्रमा रहेको बताईएको छ।

भूकम्प लगत्तै भारतको राजधानी दिल्लीमा मानिसहरु सडकमा निस्केका थिए, र त्यहाँ विद्दालय र कार्यालयहरु खाली गरिएका थिए।

असर

दिल्लीको मेट्रो सेवा केहि बेरका लागि स्थगित गरिएको थियो।

भारतका प्रधानमन्त्री मोदीले आफुले तुरुन्तै क्षतिको लेखाजोखा गर्ने आदेश दिएको भन्दै ट्वीट गरेका थिए।

उनले भने, “अफगानिस्तान, पाकिस्तान लगायत जहाँ भए पनि हामी मद्दतका लागि तयार छौं।”

ब्रीटेनको ‌ओपन युनिभर्सिटिमा प्लानेटरी जिओ साईन्सका प्रोफेसर डेविड रथरीका अनुसार सो भूकम्पले धेरै क्षति गर्ने सम्भावना थियो।

उनले भने, "२०० किलोमिटर भन्दा बढी गहिरो भएको हुनाले सतहमा कम्पन थोरै भयो। भूकम्प त्यति गहिरो नभएको भए सतहमा अझ बढी कम्पन हुन्थ्यो।”

सो क्षेत्रमा शक्तिशाली भूकम्प आउने क्रम नया भने होईन।

सन् २००५ मा पाकिस्तान नियन्त्रित काश्मिरमा गएको ७.६ रेक्टर स्केलको भूकम्पमा ७५ हजार व्यक्तिको ज्यान गएको थियो।