अफगानिस्तान,पाकिस्तानमा शक्तिशाली भूकम्प

  • 26 अक्टोबर 2015
Image caption उक्त भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा बढि क्षति भएको छ

उत्तरपूर्वी अफगानिस्तान र पाकिस्तानमा सोमबार दिउँसो गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या एक सय पचास नाघेको छ भने सयौँ घाइते भएका छन्।

सो भूकम्पको धक्का भारत, नेपाल र ताजकिस्तानमा समेत महसुस गरिएको थियो।

आफ्गानिस्तानका उपनेता अब्दुल्लाह अब्दुल्लाहले पछिल्ला दशककै सबैभन्दा शक्तिशाली उक्त भूकम्पबाट निक्कै ठूलो धनजनको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको बताएका छन्।

उक्त भूकम्पको केन्द्रविन्दू सतहबाट २ सय किलोमिटर भन्दा बढी गहिरो रहेको विवरणहरुमा जनाइएको छ।

क्षति

बीबीसीका दक्षिण एशिया सम्पादक चार्ल्स ह्याविल्याण्डका अनुसार हालसम्म ज्यान गुमाएका मध्ये झन्डै एक तिहाई अफगानिस्तानका र दुइ तिहाई पाकिस्तानका मानिसहरु छन्।

अहिलेसम्म प्राप्त खबरहरु अनुसार एकैस्थानमा सबैभन्दा धेरै क्षति दक्षिण पूर्वी अफगानिस्तानको तालोकान शहरमा भएको छ।

त्यहाँ भूकम्पका कारण विद्यालयमा भागदौड मच्चीएपछि कम्तीमा १२ जना स्कूले छात्राहरुको ज्यान गएको छ।

बीस जना भन्दा बढी घाइते भएका छन् र उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ।

तस्वीर कपीराइट Getty
Image caption पेशावरमा सयौँ घाइतेहरुको घुइँचो ठूला अस्पतालहरुमा लागेको छ

पाकिस्तानमा खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा बढी मानविय क्षति भएको खबर छ।

एक जना पाकिस्तानी प्रत्यक्षदर्शीले बीबीसीसँग भने, “भूकम्पको धक्का निक्कै शक्तिशाली थियो, भवनहरु पुरै हल्लिरहेका थिए, सिसाहरु पनि हल्लीरहेका थिए र निक्कै नै ठूलो भूकम्प आएको महसुस भैरहेको थियो।”

काबुलका ज्येष्ठ नागरिकहरुले पनि त्यस्तो शक्तिशाली झट्का आफूले पहिले कहिल्यै अनुभव नगरेको बताएका छन्।

भारतको राजधानी दिल्लीमा समेत झट्का महसुस भएपछि सयौँ मानिसहरु आत्तिएर सडकमा निस्किएका थिए भने त्यहाँको भूमिगत रेलसेवा केहि बेर स्थगित गरिएको थियो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफुले तुरुन्तै क्षतिको लेखाजोखा गर्ने आदेश दिएको भन्दै अफगानिस्तान, पाकिस्तान जहाँ पनि मद्दत गर्न भारत तयार रहेको ट्विटरमा लेखेका थिए।

शक्तिशाली

अफगानिस्तानको उत्तरपूर्वमा रहेको हिन्दु-कुश पर्वत अन्तर्गतको फैजाबाद भन्दा ७५ किलो मिटर दक्षिणमा केन्द्रबिन्दु रहेको उक्त भूकम्प ७ दशमलब ५ मेग्निच्युडको रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ।

यस क्षेत्रमा शक्तिशाली भूकम्प आउने क्रम नया भने होईन।

सन् २००५ मा पाकिस्तान नियन्त्रित काश्मिरमा गएको ७.६ रेक्टर स्केलको भूकम्पमा ७५००० को ज्यान गएको थियो।

गएको अप्रिलमा नेपालमा गएको विनाशकारी भूकम्पमा झन्डै ९ हजारको ज्यान गएको थियो भने करिव ९ लाख घरहरु क्षतिग्रस्त भएका थिए।