राष्ट्रपतिमा एमालेद्वारा उम्मेदवार चयन

  • 26 अक्टोबर 2015
Image caption राष्ट्रपति र उपराष्ट्रपतिका लागि बुधबार चुनाव हुने कार्यतालिका छ

भाबि राष्ट्रपति चुन्ने प्रक्रिया संसदले थाल्नु एक दिन अघि, नेकपा एमालले राष्ट्रपतिको उम्मेदवार चयन गरेको छ भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मंगलबार मात्र आफ्नो उम्मेदवारबारे निर्णय गर्ने जनाएको छ।

नयाँ राष्ट्रपति चयन गर्न संसदमा उम्मेदवारी दर्ता गराउने अघिल्लो दिन, सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

सोमबार बसेको स्थायी समितिको बैठकपछि एमालेले सत्ता साझेदार दलका उपराष्ट्रपतिका उम्मेदवारलाई सहयोग गर्ने बताएको छ।

एमालेले आफ्नो निर्णय पुनर्विचार नगरे आफ्नो दलले उम्मेदवारी दिने बताएको नेपाली काँग्रेसले हालसम्म कसलाई राष्ट्रपतिमा उठाउने निर्णय गरिसकेको छैन।

तयारी

मंगलबार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता गराउने समयवधी तोकिएको छ।

राष्ट्रपति निर्वाचनका लागि सहमतिको समय सकिए पनि बहुमतीय प्रक्रियामा पनि सहमति खोज्ने बताएका दलहरुले अन्तत: चुनावी मैदानमै भिड्ने तयारी गरेका छन्।

सोमबार बसेको नेकपा एमालेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिका लागि उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ।

विपक्षी नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुने र वर्तमान सरकारका चुनौतीहरु एकसाथ सामना गर्न गरिएको प्रस्तावको कुनै सकारात्मक जवाफ नआएकाले आफूहरुले सत्तासाझेदार दलहरुको तर्फबाटै उम्मेदवार घोषणा गरेको एमालेको भनाई छ।

एमालेका सचिव प्रदिप ज्ञवालीले भने, "हामीले अनौपचारीक सल्लाह सबै सत्तारुढ दलहरुसँग गरेका छौं, निर्णय त एमाले मात्रैले गरेको हो तर मनोनयन दर्ता हुने बेलामा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा उहाँको नाम दर्ता हुन्छ।"

सत्ताको मुख्य साझेदार दल एकीकृत माओवादीले एमालेले त्यस्तो निर्णय गरे पनि उम्मेदवारी दिने बेला सम्म आफ्नो पार्टीले सहमतिको प्रयास गर्ने जनाएको छ।

एकीकृत माओवादीका सचिव वर्षमान पुनले भने, "अहिलेको राष्ट्रिय राजनीतिको जटिलता सहमतिको आवश्यकता सबैलाई हेरेर मंगलबार बिहानसम्म सहमतिको प्रयत्न गर्छौ, त्यो सफल भएन भने हामी सत्तारुढ गठबन्धन सँगै रहन्छौं।"

आरोप

अनिर्णित प्रधानमन्त्री निर्वाचनको बेला उम्मेदवारी दिएको विपक्षी दल नेपाली काँग्रेसले सहमतिकै लागि भन्दै सभामुख र उपसभामुख निर्वाचनमा उम्मेदवारी नदिएको भन्दै राष्ट्रपति निर्वाचनमा एमाले एकलौटी ढंगले अघि बढेको आरोप लगाएको छ।

एमालेले आफ्नो निर्णय फिर्ता लिनुपर्ने बताउँदै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, "एमालेलाई अझै पनि पूनविचार गर्नुस् भनेका छौं, तर उहाँहरु आफ्नो निर्णयबाट पछि हटने स्थिति देखिरहेका छैनौँ, सत्तारुढ घटकसँग छलफल गरी सबै कुरा विचार गरेर उम्मेदवारी दिने बेलासम्म हाम्रो निर्णय गर्छौं।"

एमालेले उपराष्ट्रपतिका लागि भने एकीकृत माओवादी र सत्ता साझेदार साना दलहरुले पनि दावी गरेकोले आफूले उम्मेदवार नतोकेको जनाएको छ।

एकीकृत माओवादीले भने पूर्व सहमति अनुसार उपराष्ट्रपति आफूहरुलाई दिने भनिएको र विद्या भण्डारी राष्ट्रपतिको उमेदवार भए आफ्नो तर्फबाट उपराष्ट्रपतिमा पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुनलाई उम्मेदवार बनाउने तयारी गरि रहेको जनाएको छ।

सभामुख उपसभामुखको निर्वाचनमा भाग नलिएको आन्दोलनरत मधेशी मोर्चाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने बताएका छन्।

मोर्चाले प्रधानमन्त्री निर्वाचनमा भाग लिएकोमा आफ्नै समर्थकहरुबाट चर्को आलोचना व्यहोरेको थियो।